सर्वसत्तावादविरुद्धको अभियान देउवाको नेतृत्वमा असम्भव : नेता कोइराला

सर्वसत्तावादविरुद्धको अभियान देउवाको नेतृत्वमा असम्भव : नेता कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उहाँले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसको अहिलेको नेतृत्वले जनताको भावना तथा सर्वसत्तावादविरुद्धको अभियानको नेतृत्व गर्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीभित्र शुद्धीकरणको खाँचो औंल्याउनुभयो । उहाँको आशय नेका सभापति देउवाको असक्षमतातर्फ थियो ।

सोही अवसरमा नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली का.ग्रेस आत्तिएर छटपटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले कांग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।’

दुई तिहाइ बहुमतको आडमा सरकारले निर्वाचन आयोग, अदालत र प्रेसमाथि नियन्त्रण गर्न उद्धत रहेको देखिन्छ भन्दै नेता थापाले काँग्रेस प्रश्न र समस्या होइन, उत्तर र समाधान दिने पार्टी बनाउने अभियानमा आफूहरु जुटेको धारणा राख्नुभएको राससले जनाएको छ ।

नीति र विचारमा स्पष्ट भएर चित्त दुखाएर बसेका कांग्रेसजनलाई गोलबन्द गर्दै आगामी पाँच वर्षभित्रमा १५ लाख नयाँ मतदातालाई आकर्षण गर्ने अभियानमा पार्टीले दिने जस्तोसुकै जिम्मेवारीलाई शिरोधार्य गरी ५० हजार युवालाई आफू एक्लैले नेपाली कांग्रेसको पक्षमा ल्याउने उहाँले अठोट व्यक्त गर्नुभयो ।