विद्यार्थी नेता रिहाईको माग गर्दै विद्यालयमा हडताल

विद्यार्थी नेता रिहाईको माग गर्दै विद्यालयमा हडताल


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी)को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत विद्यार्थी नेताहरुको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको सो संगठनले जनाएको छ ।

हडतालका कारण काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका निजी (संस्थागत) विद्यालय बन्द भएको तर सामुदायिक विद्यालयमा भने पढाइ भइरहेको बुझिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष विजय सम्बाहाम्फेले माग पूरा गर्ने नाममा विद्यालय बन्द गराउनु गलत भएको बताएका छन् । यस्तै अनेरास्ववियु क्रान्तिकारीले चाहिँ गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको तत्काल रिहाई हुनुपर्नेर सहमतिअनुसार शुल्क घटाउनुपर्ने माग दोहोर्याएको छ । मागको सुनुवाई नभए आन्दोलन थप चर्काइने सो पक्षको भनाई छ ।