उषा लोहनी । स्पष्ट वक्ता, मिलनसार र हरेक विधा तथा क्षेत्रमा सक्रिय सञ्चारकर्मी हुनुहुन्छ । सबै तह र तप्कामा परिचित लोहनी यतिबेला रेडियो नेपलामा कार्यरत हुनुहुन्छ भने केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्य हुनुहुन्छ । विगत २२ वर्षदेखि टेलिभिजन, छापा र रेडियो पत्रकारितामार्फत सक्रिय लोहनी बितेको १९ वर्षदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्छ । नेपालको तर्फबाट संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी
(रिपोर्टिङ गर्न सफल पहिलो महिला पत्रकार) उषा लोहनी राष्ट्रपतिबाट जनसेवा श्री पुरस्कार र सङ्घर्षशील महिला पत्रकारितालगायत दर्जनौँ पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ । पत्रकार तथा कवियत्री उषा लोहनीसँग यो हप्ता कुराकानी गरिएको छ ।
० रेडियो नेपालमा तपाईंले सञ्चालन गर्नुभएको कार्यक्रम के–के छन् अहिले ?
– म यतिबेला रेडियो नेपालको समाचार शाखामा छु भने अखबार र जीवनयात्रा नामक कार्यक्रमको सञ्चालक तथा प्रस्तोता हुँ । म समाचारमूलक कार्यक्रम गर्ने गर्दछु ।
० रेडियो नेपालमा त निकै लामो समय टिक्नुभयो के छ यसको रहस्य ?
– रहस्य केही पनि छैन । म श्रमजीवी सञ्चारकर्मी हुँ । मेरो काम, कर्तव्य र निरन्तरताको परिणाम हो यो । मन दिएर निरन्तर रूपमा लागियो भने टिक्न सकिन्छ ।
० कुनै राजनीतिक पार्टीको छहारी मिलेको छ कि छैन ?
– म देशकै सञ्चारकर्मी हुँ । कुनै पार्टीका होइन र मैले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएकी छैन ।
० तर रेडियो नेपालमा त खुब राजनीति चल्छ भन्छन् नि ?
– राजनीतिको भ्रातृ सङ्गठनले प्रतिनिधित्व गरेको र जिम्मेवार पदमा बसेका व्यक्तिले सरकारी सञ्चारमाध्यमको समाचार महाशाखाजस्तो महत्वपूर्ण र प्रमुख जिम्मेवारी लिँदा त्यहाँ राजनीतिक घुसेको हुनसक्छ । त्यसमा पनि अहिलेको चुनावी सरकार जसको उद्देश्य चुनाव गराउनु छ । त्यो सरकारलाई धेरै असर पर्न सक्छ । हिजोको स्वच्छ छविका प्रशासक (सचिव) जो कहिले पनि विवादमा पर्नुभएन । त्यस्तो व्यक्ति (माधव पौडेल) ले सञ्चार मन्त्रालय सम्हाल्नुभएको छ । यसमा उहाँको ध्यान जानु जरुरी छ ।
० तपाईं यति पुरानो मान्छे । निरन्तर रूपमा सञ्चार क्षेत्रमा लाग्नुभएको छ । कहिलेकाहीँ नैराश्यता पनि छायो होला नि यो क्षेत्रप्रति ?
– क्षेत्रप्रति नै नैराश्यता त छाएन तर मेरो सुपुत्रको निधनले भने मलाई विचलित बनाएको थियो । त्यो समयमा आरजु देउवा राणा र पुरानी नायिका माला सिन्हाको ढाडस र प्रोत्साहनले ऊर्जा दिलायो ।
० यो उमेरमा पनि निकै स्मार्ट देखिनुहुन्छ नि ?
– सञ्चारकर्मी स्मार्ट त देखिनु नै प-यो नि ।
० तपार्ईं चलचित्र सेन्सर बोर्डको सदस्य, फिल्मकर्मीहरू त सेन्सर बोर्डले खुब पेल्यो भन्छन् नि ?
– यो हामीप्रति हेर्ने उहाँहरूको गलत दृष्टि हो । गलत सेन्स र दृश्य अनि कथावस्तु भएका सिनेमाहरूप्रति कडाइ गर्नु उहाँहरूका लागि पनि राम्रो कुरा हो । यसले त नेपाली सिनेमाकै भविष्य राम्रो बनाउँछ नि । स्विमिङ पुलमा पौडी खेल्दा स्विमिङ कष्टम लगाएको दृश्यलाई होइन, विद्यालयकी शिक्षिकाले विद्यालयमा पढाउन जाँदा अर्धनग्न भएर र गलत सेन्स लाग्ने डे«ड लगाएको दृश्यमाथि कैंची चलाएका हौँ । विद्यालय कुनै ब्युटी पेजेन्टको स्टेज होइन ।
० नेपाली सिनेमाको भविष्य कस्तो छ त अहिले ?
– राम्रो छ । तर, केही गलत सोच र उद्देश्य बोकेकाहरूको आगमनले नेपालमा अश्लील सिनेमा बनिरहेका छन् । तर, राम्रा फिल्म पनि नबनेका होइनन् । राम्रा फिल्मले बजार त रामै्र पाएका छन् नि । गलत सिनेमा त दर्शकहरूबाटै बहिष्कृत भएका छन् नि ।
० सेन्टर बोर्डप्रति सिनेकर्मीहरू किन आक्रोशित त ?
– उहाँहरू डाडुपन्यू आफ्नै हातमा होस् भन्ने चाहनुहुन्छ, त्यो भयो भने सिनेमा बजार झनै अधोगतितिर जान्छ । सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल, म र अन्य साथीहरूको उद्देश्य भनेको सभ्य र सुसंस्कृति नेपाली चलचित्रको निर्माणमा वृद्धि होस् भन्नु हो । सञ्जेल सर पनि निकै संवेदनशील हुनुहुन्छ । सिनेमाबाट समाज र राष्ट्रमा गलत नभएर शुभ प्रभाव परोस् भन्ने उद्देश्य हो सेन्सर बोर्डमा । चलचित्रकर्मीहरूमा गलत नसोच्न हामी आग्रह गर्दछौँ । मैले स्वतन्त्र रूपले सेन्सर गर्ने गरेकी छु । राजनीतिक आग्रह–पूर्वाग्रह सेन्सरमा राखिँदैन ।
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार
चलचित्र पत्रकारहरूको छाता सङ्गठन हो चलचित्र पत्रकार सङ्घ । छापा, रेडियो, अनलाइन तथा टेलिभिजनमा चलचित्रसम्बन्धी विधामा पत्रकारिता गर्दै आएका चलचित्र पत्रकारहरूले हरेक वर्ष जेठ ७ गतेलाई पत्रकारिता दिवसको रूपमा मनाउँदै आएका छन् । यसै दिन स्थापना भएको चलचित्र पत्रकार सङ्घले हिजो मंगलबार जेठ ७ गते १५औँ वार्षिक उत्सव मनायो ।
वार्षिक उत्सवका अवसरमा तीन चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत ग-यो । विजयरत्न तुलाधरलाई सम्मान र दुई चलचित्र पत्रकार सन्तोष रिमाल तथा सन्दीप सापकोटालाई चलचित्र पत्रकारिता पुरस्कार २०६९ बाट पुरस्कृत गरिएको छ । सम्मानित तथा पुरस्कृत चलचित्र पत्रकारलाई वरिष्ठ चलचित्रकर्मी यादव खरेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष विदुर गिरी एवम् चलचित्रकर्मी तथा सम्मानित र पुरस्कृत व्यक्तित्वहरूले पनि बोल्नुभएको थियो ।
नम्र नम्रता जे पायो त्यही नगर्ने
अब सिनेमामा पुराना अनुहारहरू बिक्न छाडे । दर्शकहरू उनीहरूको अनुहारको भरमा हलमा आउन छाडेपछि मेकरहरू पनि अब नयाँ अनुहारको खोजीमा हिँड्न थालेका छन् । तर, यसो भन्दैमा सबै नयाँ अनुहारको बजारमा ‘वाहवाही’ पनि चलेको भने छैन । सबै नयाँ अनुहारले आशा जगाउन नसकिरहेको अवस्थामा एउटै चलचित्रबाट ‘क्रेज’ जमाउन सफल र सबैबाट ‘वाह’को प्रशंसा बटुल्न सक्षम एउटी आशालाग्दी नायिका हुन् नम्रता सापकोटा ।
नम्रता हेर्दा मात्र सुन्दर देखिन्नन् उनको व्यवहार र अभिनय पनि सुन्दर नै छ । त्यसैले अहिले प्रदर्शन भइरहेको चलचित्र ‘अन्तराल’बाट उनको कामको राम्रै प्रशंसा भएको छ । थुपै्र म्युजिक भिडियोमा काम गरिसकेकी नम्रतालाई पहिले पनि सिनेमाबाट धेरैपटक अफर आएको थियो । तर, इन्कार गरिन् उनले । ‘कथा चित्त बुझेन र युनिट पनि राम्रो लागेन । तर, अन्तरालसँग मेरो मन मिल्यो, त्यही भएर खेलेँ,’ नम्रताले कारण खुलाइन् । अन्तराललाई महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेकी हुन् । उनको कामबाट प्रभावित भएकी नम्रताले महिला निर्देशकको चलचित्रमा काम गर्दा झनै सजिलो भएको कुरा बताइन् । ‘मैले उहाँको म्युजिक भिडियोमा पनि काम गरेकी थिएँ । अन्तत: फिल्म पनि उहाँकै पहिलोपटक खेल्न पुगेँ,’ उनी भन्छिन् । अब नम्रता मोडलिङ र चलचित्र क्षेत्रलाई एकसाथ अगाडि बढाउने योजनामा छिन् । अन्तरालको प्रदर्शनपश्चात् पनि सिनेमाबाट उनलाई अफर आइरहेका छन् । ‘तर, पनि म जस्तो पायो त्यस्तो फिल्ममा काम गर्दिनँ । पारिश्रमिकभन्दा पनि भूमिका र ब्यानर हेर्छु म,’उनले थपिन् ।
प्रतिक्रिया