:योगी धर्म महारस
आयुर्वेदिक उपचार तथा जडीबुटीहरूको खोज तथा अनुसन्धानमा पूर्ण समर्पित योगी धर्म महारस एक ब्रह्मचारी हुनुहुन्छ । उहाँको जन्म २०२४ असोज २४ गते गोरखाको खरिबोट गाविस (जहाँ ऋषि च्यवनको आश्रम पनि रहेको छ) मा धर्मराज पौडेलको रूपमा भएको थियो । ज्ञानज्योति मावि गोरखाबाट एसएलसी र पटना बोर्डबाट विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि धर्मले हिन्दी विश्वविद्यालय इलाहावादबाट आयुर्वेद रत्न उपाधि हासिल गर्नुभएको थियो । कलकत्ताबाट ब्याचलर मेडिकल हर्बलिक साइन्स (बीएमएचएस) गर्नुभएका धर्म महारसले जडीबुटी र औषधि उपचारसम्बन्धी प्रारम्भिक शिक्षा बाल्यकालमा घरमै प्राप्त गर्नुभएको थियो । भन्नुहुन्छ, ‘तीन वर्षको उमेरमा स्वर्गारोहण भएको आमाको अनुहार मलाई यतिबेला याद छैन तर त्यतिबेला मैले चिनेका जडीबुटीहरू अहिले पनि यादमा छन् ।’ ०६२ सालमा गतिशील चिकित्सा विज्ञान नामक उपयोगी ग्रन्थ प्रकाशित गर्नुभएका महारसले गत वर्ष आयुर्वेदिक जडीबुटी विज्ञान बजारमा ल्याउनुभएको छ । उहाँले नेपालका पौस्टिक जडीबुटीहरू ९ब्थगचदभमष्प त्यलष्अ ज्भचदब िष्ल ल्भउब०ि नामको अर्को ग्रन्थ पनि तयार पारिसक्नुभएको छ, तर प्रकाशकको अभावमा पुस्तक छपाइ गर्न सकिरहनुभएको छैन । आयुर्वेद र जडीबुटीका उनै विज्ञ धर्म महारससँग घटना र विचारले गरेको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० तपाईं विभिन्न जडीबुटीको खोज, अनुसन्धान तथा मानिसहरूको उपचारमा लाग्नुभएको छ, यसतर्फ कसरी आकर्षित हुनुभयो ?
– कसरी स्वस्थ रहने, निरोगिताका उपायहरू के–के हुन सक्छन् भनेर सनातनदेखि मानिसले खोज–अनुसन्धान गर्दै आएका छन् । मानिस मात्र नभई पशुपक्षीले समेत आफ्नो उपचार आफैँ गरिरहेका हुन्छन् । मानवजाति आज अनेकौँ रोगले ग्रस्त छ, पीडित छ । लाखौँ–करोडौँ पैसा स्वास्थोपचारमा खर्च भइरहेको छ र पनि मानिस पूर्ण स्वस्थ रहन सकिरहेको छैन । विदेशी औषधिको भर पर्दा मानिस झन्–झन् रोगी पो बन्दै गएका छन् । यस्तो परिवेशमा स्वाभाविक रूपमा ‘आयुर्वेद’को महत्व बढ्न पुगेको मेरो बुझाइ छ । आयुर्वेद उपचार हाम्रो सनातन संस्कृति पनि हो । यसर्थ, हाम्रै गाउँघर वनजङ्गलमा भएका जडीबुटीबाट लाभ हासिल गर्न सकिन्छ भने त्यो काम किन नगर्ने भनेर म यसको खोज र अनुसन्धानमा लागेको हुँ । तर, मैले कुनै नौलो काम गरिरहेको भने होइन । कुरा के भने यस्तो स्वर्गजस्तो देश, आयुबद्र्धक जडीबुटी नै जडीबुटी भएको मुलुकमा पनि यहाँका बासिन्दा किन रोगी भएर रहने ? किन महँगा नर्सिङहोम र अस्पतालमा पैसा बगाउने ? आफ्नै गाउँघर वरपर रहेका प्राणबद्र्धक जडीबुटी खाएर स्वस्थ रहन मानवजातिलाई किन सचेत नबनाउने भनी म लागिपरेको हुँ । किनकि स्वास्थ्यसेवा गर्नु भनेको सबभन्दा ठूलो पुन्य र उपकार हो भन्ने मेरो बुझाइ छ ।
० यस क्षेत्रमा तपाईंले कहिलेदेखि काम सुरु गर्नुभएको हो नि ?
– तीन वर्षको उमेरदेखि नै मलाई विभिन्न जडीबुटीको अनुहार थाहा छ । मेरी हजारआमा, फुपूहरूले घरमा जडीबुटी ल्याएर पिस्ने गरेको देखेर नै मलाई यसप्रति जिज्ञासा र लगाव भयो । जङ्गलबाट उहाँहरूले ल्याएका जडीबुटीहरू पिस्न, घिस्न र पकाउन म सघाउँथँे । यसरी म सानैदेखि लागिपरेकोले यही नै समयदेखि म लागिपरँे भनी तोकेर भन्न सक्दिनँ । सानै उमेरदेखि यस विषयमा लागिरहेको छु ।
० यो काममा लिप्त हुँदै जाँदा यसैसम्बन्धी शिक्षा लिँदै जानुभयो तर यही कामले गर्दा तपाईंले बिहे गर्न नै बिर्सनुभएजस्तो छ, हो ?
– म कहिले कहाँ पुग्छु त कहिले कहाँ पुगिरहेको हुन्छु । काममा लागिपर्दा समय नै नभएपछि बिहेबारे सोच्ने कुरै आएन । एउटै बुटी खोज्न र अनुसन्धान गर्न वर्षौं पनि लाग्छ । उम्रँदा कसरी उम्रन्छ, फुल्दा र फल्दाको अवस्था के–कस्तो हुन्छ, त्यसका गुण के–कस्तो छ भन्नेजस्ता कुरा निरन्तरता नदिए बुझ्न सकिन्न । यसरी म जडीबुटीको खोज वा यसैसँग सम्बन्धित काममा लागेकोलाग्यै हुन्छु । दिनचर्या नै यस्तै भइसक्यो । कुनै पनि बुटी पत्ता लगाउन या अनुसन्धानका लागि या यसबारे लेख्नका लागि आफैँले घुम्नुपर्छ, ती बुटीलाई कैयनपटक दर्शन गर्नुपर्छ । कहिले यता त कहिले उता दौडधुप गरिरहनैपर्छ । यसले गर्दा मसँग समय नभएको हो । आफ्नो अनुसन्धानमा समय दिनु नै मलाई रमाइलो लाग्छ । सायद यही कारणले मैले आफ्नो विवाहबारेमा कहिल्यै सोचिनँ र अहिले पनि सोचेको छैन ।
० त्यसो भए तपाईंको जीवन नै जडीबुटीको खोजी र मानिसको उपचार–सेवामै बित्ने भयो भन्न मिल्छ ?
– मानिस जन्मिएपछि आफ्नो मातृभूमिका लागि केही त गर्नैपर्छ, यो अमूल्य जीवन त्यसै खेर फाल्न त हुँदैहुँदैन भन्ने लागेर मैले यो बाटो रोजेको हुँ । खास केही गर्न सकँेजस्तो त लागेको छैन, तर नयाँभन्दा नयाँ जडीबुटी वा औधषिहरूबारे खोज–अनुसन्धान गर्ने क्रम रोकिने पनि छैन । मानव जातिका लागि, समस्त आमाबुबा दाजुभाइ–दिदीबहिनीका लागि हाम्रा ऋषिमुनि र गुरुहरूले सिकाउनुभएको ज्ञानपथमा लागेर आफ्नोतर्फबाट सक्दो योगदान दिने प्रण मैले गरेको छु । भविष्यको कुरा त कसले पो जान्दछ र ? तर, म आफ्नो कर्तव्यमा लागिरहनेछु ।
० तपाईंको आजसम्मको खोज–अनुसन्धानअनुसार नेपालमा कस्ता–कस्ता रोगका उपचार गर्ने जडीबुटीहरू पाइँदारहेछन् ?
– अत्यन्त जटिल र डरलाग्दा रोगहरूको उपचारमा उपयोगी हुने जडीबुटी नेपालमा पाइन्छन् । संसारमा अन्यत्र नपाइने, नेपालमा मात्रै पाइने जडीबुटी मात्रै हजारको हाराहारीमा छन् । क्यान्सर, एचआईभी/एड्सजस्ता असाध्य ठानिएका रोगमा प्रयोग हुने औषधि पनि यहाँ पाइन्छन् । जडीबुटीका सन्दर्भमा नेपाल त यस्तो भूमि हो जसको तुलना अन्यसँग हुनै सक्दैन । जस्तो गाईखुरे, रक्तक्यान्सरमा प्रयोग हुने चन्दन नेपालमा मात्रै पाइन्छ, १५–३५ सय मिटरभन्दा माथिको चिस्यान र त्यस क्षेत्रबाट बहने हिमाली हावाले छोएका स्थानमा पाइने जडीबुटीहरू दुर्लभ हुन्छन् । लोठसल्ला पनि क्यान्सर उपचारमा प्रयोग हुने जडीबुटीमा पर्छ जो नेपालमा मात्रै पाइन्छ । भृङ्गराज या भूमिराज भनिने भृङ्गझार आन्द्रामा अल्सरको घाउ भए पनि ठीक पार्न सक्ने क्षमता भएको अत्यन्त महत्वपूर्ण जडीबुटी हो । यसले शरीरमा पैदा भएका गाँठा–गिर्खाहरू बढ्न नदिने, ट्युमर पलाउन नदिनेजस्ता काम गर्छन् । एक मुठी भृङ्गराज हप्ता दिनजति चपाउने/चुस्ने गर्दा पेट तथा आन्द्राका घाउहरू ठीक हुन जान्छन् । यो अमृततुल्य जडीबुटी नेपालको महान् सम्पत्ति हो । लोपोन्मुख जडीबुटी कुन्–कुन् हुन् भन्ने खोजी गरी तिनको संरक्षणका लागि यहाँ कुनै पहलकदमी लिइएको छैन । खासमा भन्ने हो भने हाम्रा जडीबुटीहरूको सूची पनि तयार नभएको अवस्था छ । यस्ता महत्वपूर्ण औषधिहरूबारे चर्चा र जनचेतना फैलाउने कार्यमा आज राज्यले मौनता साध्नु, अन्य क्षेत्रबाट पनि यो काम हुन नसक्नु विडम्बनाको कुरा हो ।
० अहिलेसम्म तपाईंले कस्ता–कस्ता रोगमा उपचार गर्नुभएको छ, कुनै महत्वपूर्ण स्मरण सुनाइदिनुहोस् न ?
– मैले त क्यान्सर र एचआईभी/एड्सको पनि उपचार गरिरहेको छु । यहाँ यस्तो पनि देखिएको छ कि कब्जियत भएर विजातीय विकारहरू पेटमा थुप्रिएर कुहिएको छ, त्यसको पहिचान गरी त्यो विकारलाई बाहिर फाल्ने उपाय नगरी एकैचोटि क्यान्सर भयो भन्दै महँगा अस्पतालमा क्यान्सरको उपचार गर्न लाइन लाग्न पुग्छन् । मैले कतिलाई के–के रोगमा उपचार गरँे भन्ने सन्दर्भमा मसँग यकिन डाटा त छैन, तर हजारौँलाई उपचारको सेवा दिइसकेको छु । क्यान्सर र एड्सका रोगीको पनि सेवा गरेको छु । क्यान्सरमा त निकै आराम पुगेका उदाहरण छन् भने एचआईभी/एड्सको पनि उपचार क्रममा निकै कम भएर गएको पाइएको छ । त्यस्ता रोगीको शरीरमा के–के तत्वको कमी भएको छ र त्यसको परिपूर्ति कुन जडीबुटीबाट गराउन सकिन्छ भनी म थप अनुसन्धानका साथ उपचार सेवा उपलब्ध गराइरहेको छु ।
प्रतिक्रिया