तीन मिनेट हतार गर्दा कर्मचारीलाई यस्तो सजाय

तीन मिनेट हतार गर्दा कर्मचारीलाई यस्तो सजाय


तोकिएको समयभन्दा तीन मिनेटअघि खाना खानको निम्ति कार्यालयबाट निस्किएको आरोपमा जापानमा एक कर्मचारी कारवाहीमा परेका छन् । तीन मिनेट हतार गर्दा कारवाहीमा परेको यो सन्दर्भ यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

जापानको कोबस्थित वाटरवर्क ब्युरोका ती ६४ वर्षीय कर्मचारीको गल्ती यत्ति मात्र थियो कि भोकले सताइएका उनी लन्चको लागि तोकिएको एक बजेको समयभन्दा तीन मिनेटअघि नै कार्यकक्षबाट बाहिरिएका थिए ।

सजायस्वरुप उनको आधा दिनको तलब कटौतीका साथै उच्चाधिकारीबाट उनले चेतावनीयुक्त खप्की खानुपरेको छ । सम्बन्धित कार्यालयका प्रवक्ताले बितेको सात महिनामा ती कर्मचारीले २६ पटक समयको नियम तोडेकोले सजाय दिनुपरेको तर्क गरेका छन् ।

यसरी तीन मिनेट पहिले खाना खान निस्कँदा सजाय भोग्नुपरेको सन्दर्भ जापानी सोसल मिडियामा छाएपछि उक्त कार्यालयका प्रमुखले माफी मागेका छन् । पीडित व्यक्तिमाथि दुर्व्यवहार भएको भन्दै उनले खेद व्यक्त गरेका हुन् ।

जे होस्, कार्यालयमा सेवाग्राहीको काममा ध्यान नदिने, जाडो याममा चौरमा घाम या कोठामा हिटर तापेर र गर्मीमा पङ्खाको हावा खाएर कार्यालय समय गुजार्ने, एक–डेढ घण्टा ढिलो कार्यालय आई विभिन्न बहाना बनाएर एक–डेढ घण्टाअघि नै निस्कने, कार्यालयमा गफ चुटेर बस्ने र ताससमेत खेल्ने प्रवृत्तिको शिकार बनेका हाम्रा कैयन कर्मचारीका लागि भने यो सन्दर्भ एक गतिलो पाठ हुन सक्छ, यदि शिक्षा लिने चेष्टा गर्ने हो भने ।

सांकेतिक तस्बिर गुगल