सक्रिय राजनीतिबाट यसकारण अलग्गिए महरा

सक्रिय राजनीतिबाट यसकारण अलग्गिए महरा


पूर्व माओवादी पार्टीका एक वरिष्ठ नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराले अन्ततः सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । झण्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका महराले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।

सक्रिय राजनीतिबाट अलग हुनेबारे जानकारी दिन बिहीबार (४ असार) एक विज्ञप्ति जारी गर्दै नेता महराले अब आफू पार्टीको एक साधारण सदस्यका रूपमा मात्र रहने बताएका छन् ।पार्टीप्रति कुनै असन्तुष्टिका कारण नभइ आफ्नो स्वास्थ्य अवस्थाका कारण यस्तो निर्णय लिन बाध्य हुनुपरेको उनको भनाइ छ ।

पछिल्लो समय विभिन्न प्रकरणमा नाम जोडिएर आलोचित बनेका र कानुनी कारवाहीसमेत भोग्न विवश बनेका महरा हाल नसा तथा मांसपेशीको समस्याबाट पीडित छन् । नियमित उपचार, थेरापी र औषधि सेवनका बाबजुद स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार रूपमा पार्टी गतिविधिमा योगदान गर्न कठिन भएको उनले उल्लेख गरेका छन् ।

‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय र प्रभावकारी रूपमा योगदान गर्न कठिन हुँदै गएको छ’, विज्ञप्तिमार्फत उनले जनाएका छन् ।

आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक, जनसमुदाय तथा परिवारप्रति महराले आभार व्यक्त गरेका छन् भने अब नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध, आत्मनिर्भर र अग्रगामी दिशातर्फ अघि बढाउने विश्वास उनले व्यक्त गरेका छन्।