कांग्रेसभित्र राजनीतिक शुद्धीकरणको खाँचो रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गर्न गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले हामीले कसैको व्यक्तिगत आलोचना गरको होइन, पार्टी नेतृत्वको कार्यनीतिको आलोचना गरेको हो, आलोचना गर्न नपाउने भनेको होइन, त्यही आलोचनाले पार्टी नेतृत्वलाई सच्चिएर आगाडि बढ्न सहयोग मिल्छ भन्ने धारणा व्यक्त गरे ।
नेता सिंहले कांग्रेस श्रमिकको पार्टी भएकाले श्रमिकलाई सम्मान गर्ने बताउँदै पार्टीले श्रमिकलाई उचित संरक्षण गर्न नसकेको गुनासो गरे । गिरिजाबाबु छँदा स्थापना भएको प्रतिष्ठानलाई पार्टीले सहयोग गर्नुपर्ने धारणा पनि उनको रह्यो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका नवनिर्वाचित अध्यक्ष पुस्कर आचार्यले पार्टीले श्रमिकलाई उचित सम्मान दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै श्रमिक आयोग निर्माणका लागि पार्टीले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।
विसं २०६४ मा गिरिजाप्रसाद कोइराला हुँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले श्रमिकको हकअधिकारका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएको प्रतिष्ठानका महासचिव सूर्य नेपालले जानकारी दिए ।
प्रतिक्रिया