राजदूतका कारण भ्रमणमा भद्रगोल

राजदूतका कारण भ्रमणमा भद्रगोल


प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले नेपालकै बदनाम गरेको चीनमा रहेको नेपाली समुदायले जनाएको छ । यहाँसम्म कि नेपालका प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जाँदा सधैँ राजदूतावासमै रात्रिभोजको आयोजना गर्ने, चीनमा रहेको विभिन्न क्षेत्र, वर्ग र पेसामा रहेका नेपाली समुदायका व्यक्तिहरूलाई आमन्त्रण गर्ने र नेपालीका समस्या, गुनासा र सुझावहरू सुन्ने परम्परा राजदूत लीलामणि पौड्यालले यसपटक तोडिदिएका छन् ।

दूतावासमा एउटा रात्रिभोजको आयोजनासम्म गर्न नसक्नुमा नेपाल सरकारसँग पैसा नभएको भन्दै उनले उम्कने प्रयत्न गरेका छन् । तर, दूतावासमा आयोजना गर्न बजेट नभएको बताउने उनले स्थानीय एक होटेलमा भने भोज आयोजना गरेका थिए । त्यस भोजका आमन्त्रितमा चिनियाँ नागरिक र त्यसमा पनि राजदूत पौडेलका छोराका व्यापारिक साझेदारहरू धेरै थिए । भोजस्थलमा नेपालीलाई भने सुरक्षाको कारण देखाएर छिर्न दिइएको थिएन । नेपालको झन्डा लिएर प्रधानमन्त्रीलाई स्वागत गर्न गएका विद्यार्थीलाई पनि बाहिरै रोकिएको थियो । यसरी यी राजदूतले परम्परा तोडेको, आफूहरूलाई प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न र आफ्ना गुनासाहरू राख्न पनि नदिएको भन्दै नेपालीहरू आक्रोशित भएका थिए ।

त्योभन्दा ठूलो लज्जास्पद व्यवहार त उनले आठवटा सम्झौताको दिन गरेका थिए । राजदूत पौडेलले सकेसम्म आफ्नो छोराको व्यापार रहेको सिचुआन प्रान्तको छेन्दुमा प्रधानमन्त्रीलाई लैजान खोजेका थिए । त्यो पहिले नै थाहा पाएर प्रधानमन्त्री त्यहाँ नजाने भएपछि उनले छेन्दुका सबै व्यापारीलाई बोलाएर राजधानी बेइजिङमै हस्ताक्षर गराएका थिए । सानातिना आयोजना, कार्यक्रममै पनि प्रधानमन्त्रीलाई उपस्थित गराएर हस्ताक्षर गराएको सो समारोह अत्यन्तै अस्तव्यस्त थियो । त्यसमा कूटनीतिक मर्यादा नमिल्दा चिनियाँ पक्षले निकै गुनासो गरेको थियो ।

त्यसो त भ्रमण हुनुअघि नै चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले राजदूतको क्रियाकलाप देखेर वाक्क भएको बताएका थिए । उनीहरूले सानातिना कुरा पनि हरेकपटक सोध्ने, राजदूत पौडेलमा आत्मविश्वास नरहेको देखेर आफूहरू हैरान भएको चिनियाँ विदेश मन्त्रालयको नेपाल डेस्कका अधिकारीहरूको भनाइ थियो । तिनै अधिकारी यस भ्रमणका बेला नेपाली दूतावासका तर्फबाट कूटनीतिक ‘ल्याप्सेज’ भएको देखेर हैरान भएका थिए ।

नेपाली समुदायले प्रधानमन्त्रीसँग दूतावासमा अन्तरक्रिया गर्ने कार्यक्रम दूतावासले सार्वजनिक गरेको थियो । तर, पछि आफैँले नियतवश कार्यक्रम ढिला गराएर दूतावासमै नलगी उनले प्रधानमन्त्रीलाई सीधै संयुक्त पत्रकार सम्मेलन हलमा छिराएका थिए । त्यसपछि नेपाली समुदाय निराश भएर फर्किएको थियो ।

हस्ताक्षर समारोहपछि नेपाली समुदायले प्रधानमन्त्रीसँग दूतावासमा अन्तरक्रिया गर्ने कार्यक्रम दूतावासले सार्वजनिक गरेको थियो । तर, पछि आफैँले नियतवश कार्यक्रम ढिला गराएर दूतावासमै नलगी उनले प्रधानमन्त्रीलाई सीधै संयुक्त पत्रकार सम्मेलन हलमा छिराएका थिए । त्यसपछि नेपाली समुदाय निराश भएर फर्किएको थियो । विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा तथा विद्यावारिधि गर्न त्यहाँ रहेका विद्यार्थी प्रधानमन्त्रीसँग कुराकानी गर्न निकै टाढाबाट बेइजिङ पुगेको भए पनि उनीहरू यसै फर्किनुपरेको थियो ।

राजदूत पौडेलको असक्षमताको प्रदर्शन र उनीप्रतिको नेपाली समुदायको चरम असन्तुष्टि नेपाल–चीन मैत्री दौड कार्यक्रममा पनि देखिएको थियो । दौड बेइजिङ स्पोर्टस् युनिभर्सिटीमा आयोजना गरिएको थियो । त्यस दौडमा नेपाल र चीनका १००/१०० जनाको सहभागिता गर्ने भनी कार्यक्रम तय गरिएको थियो । चिनियाँ पक्षबाट १०० जनाकै सहभागिता भए पनि नेपाली तर्फबाट भने २० जना मात्र उपस्थित भएको र त्यसमा पनि केही त दूतावासकै कर्मचारी थिए । यहाँ अरू केही नभएर राजदूतप्रतिको चरम असन्तुष्टिकै कारण नेपालीहरू त्यहाँ नगएको बताइएको छ । यस घटनापछि भने प्रधानमन्त्री ओलीले राजदूत पौडेललाई के हो, तपाईंहरूले नेपाली समुदायलाई खबरै गर्नुभएन कि क्या हो भनेर प्रश्न गरेका थिए । त्यस्तै रात्रिभोजमा पनि नेपालीलाई नदेखेपछि प्रधानमन्त्रीको प्रश्न आएको थियो । तर, राजदूतले भने बोलाएको, तर यहाँका विद्यार्थीहरूको परीक्षाको समय परेकोले नआएको भन्नेजस्तो हास्यास्पद जवाफ दिएका थिए ।

उनले हङकङदेखि बेइजिङ आएका व्यापारिक समुदायका व्यक्ति र प्रधानमन्त्रीका अति निकटस्थ व्यक्तिलाई पनि उनले प्रधानमन्त्रीसँग भेट्न दिएका थिएनन् । एकजना प्रत्यक्षदर्शीले भने, ‘हङकङदेखि बेइजिङसम्म नै कैयौँ उद्यमी उपहारसहित प्रधानमन्त्रीलाई भेट्न आएका थिए, तर २ मिनेट भेटको समयमा पनि असम्भव भएको भन्दै राजदूतले उपहारहरू दूतावासमा छोड्न निर्देशन दिए ।’ उनको यस्तो रवैयाका बाबजुद कतिपयले उपहारमा नाम लेखेर छोडेको भए पनि कतिपयले भने विश्वास नलागेर फिर्ता लगेको बुझिएको छ ।

ज्ञात रहोस्, राजदूत पौडेलका छोराले चीनको सिचुआनलाई केन्द्र बनाएर ट्राभल एजेन्सी सञ्चालन गर्ने गरेका छन् । त्यसैले नेपालबाट चीनतर्फ हुने नेपाली अधिकारीहरूका उच्चस्तरीय भ्रमणमा पनि उनले छोराकै एजेन्सीबाट टिकट काट्न लगाउने गरेका छन् । उनी राजदूत भएपछि उनका छोराले केही चिनियाँ जलविद्युत् उत्पादन कम्पनीको सेयर लिइसकेको नेपालीहरू बताउँछन् । त्यसैले चीनमा उनको हिमचिम बढी चिनयाँ व्यापारीसँगै छ । अघिपछि पनि उनीसँग नेपालीले भेट्न पाउँदैनन् । नेपालीहरूको उनीप्रति धेरै ठूलो रहने गरेको गुनासो छ । ती सबै आफ्ना कमीकमजोरीहरू प्रधानमन्त्रीलाई सुनाउलान् भनेर पनि उनले नेपालीलाई भेट्न नदिएको बुझिन्छ । उता चिनियाँ विदेश मन्त्रालयको नेपाल डेस्कका अधिकारीहरूको पनि उनीप्रति विगत लामो समयदेखि नै गुनासो रहने गरेको छ । आफँैले कुनै निर्णय गर्न नसक्ने र सानातिना कुरामा पनि आफूहरूलाई झमेला दिने गरेको गुनासो गर्छन् । नेपालले चीनजस्तो देशमा पनि कूटनीतिक क्षमता नभएको व्यक्तिलाई पठाउँदा समस्या भएको भुक्तभोगीहरूको भनाइ छ ।