पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा पटकपटक मूल्यवृद्धि गरेको विरोधमा नेपाल तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । राजधानीका विभिन्न ठाँउबाट बुधबार जुलुस निकालेर तरुण दलले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनका क्रममा रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाए। दुई तिहाईको दम्भ देखाएर सरकार निरकुंश बन्न खोजेको जिकीर गर्दै उनले यसको विरुद्धमा तरुण दलको आन्दोलित हुनुपरेको बताए । सरकारले महँगी घटाउनेतर्फ तत्काल प्रभावकारी कदम नचाले आन्दोलन चर्काइँदै लैजाने उदघोष उनले गरे ।
यसैगरी, नेपाल विद्यार्थी संघले शनिबार प्रकाशित माध्यामिक शिक्षा परिक्षा (एसईई) नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाहीको गर्न माग गरेको हो । नेविसंघले कक्षा १ देखि उच्च शिक्षासम्मका सम्पूर्ण पाठ्यक्रम निर्धारण गर्दा नीति, योजना र कार्यक्रम तर्जुमामा सरोकारवाला पक्षसँग व्यापक छलफल र पूर्व तयारी गरी लागू गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया