साउथ सुडानमा स्थायी युद्धबिरामको सम्झौता

साउथ सुडानमा स्थायी युद्धबिरामको सम्झौता


दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ । दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धबिराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने सम्बद्ध अधिकारीहरुलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।

‘स्थायी युद्धबिरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका छन्,’ सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले जानकारी दिए ।

यसअघि पनि यस्तै थुप्रै युद्धबिराम सम्झौता भएका र तिनीहरूको उल्लंघन पनि भएका छन् । प्राय सम्झौता दक्षिण सुडानभन्दा बाहिरी देशहरूमा भएका छन् ।

विभिन्न चरणमा भएका पटक पटकका भित्रि वार्ता तथा छलफलहरू पछि अहिलेको सम्झौता भएको बताइएको छ । वार्ताका लागि इथियोपियाका प्रधानमन्त्री अविय अहमदले पनि ठूलो योगदान गरेका समाचारमा जनाइएको छ ।

दक्षिण सुडानमा भएको युद्धका कारण दशौँ हजार जना मारिएका छन् भने लाखौँ विस्थापित भएका छन् । विद्रोहीहरूको नेतृत्व गरेका रिक दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत हुन् ।