अनियन्त्रित महँगी, पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि र एसईई परीक्षाको नतिजामा गरिएको लापर्वाहीलगायत मुद्दामा नेपाल विद्यार्थी सङ्घले देशभर आन्दोलन शुरु गरेको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्ला शिक्षा समन्यव समितिको कार्यलयमा नेवि सङ्घका कार्यकर्ताले एक घण्टा घेराउ गरेका छन् ।
सङ्घका अध्यक्ष नैनसिंह महरले जनाएअनुसार भोली (असार १५) देशभरका क्याम्पसअगाडि चक्का जाम गरिने छ भने १७ गते देशभरका सरकारी साधन गुडाउनमा रोक लगाइने छ ।
यस्तै, असार १८ र १९ गते कोणसभा तथा पर्चा वितरण र २० गते सतहत्तरै जिल्ला प्रशासन कार्यालय एवम् काठमाडौंमा सिहदरबार घेराउ गरिने कार्यक्रम नेवि सङ्घले तय गरेको छ ।
यसबारे जानकारी दिन अध्यक्ष महरले एक विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा भनिएको छ– ‘वर्तमान कम्युनिष्ट सरकारले पेट्रोलियम पदार्थमा एक महिनामा पाँच पटकसम्म गरेको अस्वभाविक मूल्यवृद्धिका कारण जनताको दैनिक उपभोग्य पदार्थलगायत सबै कुरामा अधिक मूल्य वृद्धि भएको छ । यसबाट विद्यार्थीलगायत सामान्य जनता मर्कामा परिरहेका छन् । सम्पूर्ण चिज वस्तुमा आकासिएको मूल्यवृद्धिले जनजीवन अत्यन्तै कष्टकर बनेको छ । पछिल्लो पटक एसईई परीक्षाको नतिजा प्रकाशनमा भएको चरम लापर्वाहीले विद्यार्थीहरू थप मर्कामा परेका छन् भने सरकारको चरम लापर्वाही उदाङ्ग भएको छ ।’
अगाडि भनिएको छ– ‘४७.३ प्रतिशतभन्दा बढी विद्यार्थीको एसईई नतिजा प्रकाशनमा बिहान कम र बेलुका बढि प्राप्ताङ्क देखिनुले वर्तमान कम्युनिष्ट सरकार शैक्षिक माफियाको आर्थिक चलखेलको प्रभावमा परेको सहजै अनुमान लगाउन सकिन्छ । एसईई परीक्षामा समावेश भएका लाखौँ विद्यार्थीसहित उनका अभिभावक, शिक्षक र स्कुल सञ्चालकहरूको मनोविज्ञानमा नराम्रो असर परेको छ ।’
सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार परीक्षाको नजिता प्रकाशनमा भएको चरम अनियमितताले आम जनजीवनमा निरासा पैदा गरेकोले शिक्षामन्त्रीको राजीनामा, एसईई बोर्ड अध्यक्षलगायत पदाधिकारीमाथि कारवाही र स्वतन्त्र छानविन समिति गठनका लागि सम्बन्धित निकायसँग नेवि सङ्घले माग गरेको छ । मागको सुनुवाई नभए आन्दोलनका थप चर्का कार्यक्रम अघिसारने अध्यक्ष महरले जनाएका छन् ।

प्रतिक्रिया