नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक–अर्काको आलोचना गर्ने बेला नभएको बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पदमा मनोनयन गरेपछि शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उपसभापति निधिले चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताए । अहिले पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको निधिको भनाइ छ ।
हेटौँडामा सम्पन्न जिल्ला सभापतिको भेलाले पार्टीभित्रको कमी–कमजोरीबारे सुझाव दिइसकेको बताउँदै निधिले अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको स्पष्ट पारे । ‘कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ नेतृत्व होइन, नीतिको बहस गरौँ,’ उपसभापति निधिले बताए ।
राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति कांग्रेसको एजेण्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया