– चन्द्रकान्त खनाल
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफ्नो कार्यकालको सय दिन पुगेको अवसरमा आफ्नो मन्त्रालयले गरेका कामको विवरण सार्वजनिक गरेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बरालले प्रारम्भिक चरणमा आफूले सिक्दै र काम पनि गर्दै गरेको उल्लेख गर्दै यसबीच छुटेका विषयहरूलाई पनि समाबेश गरी अगाडि बढ्ने बताए ।
सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बहन गरेको आज सय दिन पुगेको जानकार दिँदै मन्त्री बरालले निकै चुनौतीका बाबजुद आफूले महत्वपूर्ण काम गरेको र गर्दै जाने उल्लेख गरे ।
मन्त्रालयमा ६८ जना कर्मचारीको दरबन्दी भएपनि अहिले कार्यालयमा ३२ जना मात्र कर्मचारी रहेको गुनासो गर्दै उनले पर्याप्त कर्मचारी नभएका कारण सोचेअनुरुप काम गर्न नसकेको र ढिलाई भैरहेकोमा आफू चिन्तित भएको बताए ।
‘दरबन्दीको हिसाबमा कर्मचारी अभाव भन्न त मिल्दैन तर दरबन्दी गरिएका कर्मचारीलाई कार्यालय नपठाउँदा काम प्रभावित भएको हो,’ उनले भने । मन्त्री बरालले समाज रुपान्तरणका लागि शिक्षा पद्धतिलाई पहिलो प्राथमिकताका साथ लैजाने उल्लेख गर्दै विकासको पाटो शिक्षा भएकाले शिक्षामा लगानी गर्ने जानकारी दिए ।
आफूले पदभार ग्रहण गरेको सय दिनभित्र भएका कार्य प्रगतिका रूपमा उनले आर्थिक वर्ष २०७४/७५ मा एक पालिकामा एक प्राविधिक विद्यालय तथा प्रत्येक जिल्लामा एक स्नातक विज्ञान क्याम्पससहितको नीति कार्यक्रम प्रस्ताव गरिएको, प्रदेशअन्तर्गतका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु तथा विभिन्न खेलसम्बद्ध सरोकारवालाहरुसंग सामाजिक विकास मन्त्रालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । आव २०७५/७६ मा विश्वविद्यालय स्थापनका लागि संभाव्यता अध्ययन, शिक्षामा अध्यययन अनुसन्धान तथा शैक्षिक पार्क निर्माणसहितको नीति कार्यक्रम प्रस्ताव गरी स्वीकृत गराएको लगायत विभिन्न २६ बुँदे कार्यविवरण प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया