नेपालले प्रगति गर्न नसक्नुका कारण अनेक छन्, तर अनेकमध्ये एक महत्वपूर्ण कारकतत्व मानिन्छ यहाँको सुविधाप्रेमी तथा भ्रष्ट कर्मचारीतन्त्र । सिंगै कर्मचारीतन्त्रलाई यस्तो गम्भीर आरोप लाग्दा यसभित्रका इमानदार, कर्मठ एवम् मिहेनती राष्ट्रसेवकहरु पनि मुछिन पुग्छन्, जो विडम्बनापूर्ण छ । तथापि कर्मचारी प्रशासनको सग्लो चित्र उतार्न खोज्दा देखापर्ने तस्बिरचाहिँ दुःखदायी नै छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि आज यस्तै दुःख उजागर गरे । ‘कर्मचारीले तोकिएको काम मर्यादित, इमान्दार, पारदर्शी र जवादेही भएर गर्नुपर्छ, आफ्नो मात्र सुख, सुविधा खोज्ने कर्मचारी सरकारलाई चाहिएको छैन’- यस्तो मार्मिक अभिव्यक्ति मन्त्री पण्डितले दिनुको पक्कै पनि कुनै कारण त छ ।
मन्त्री लालबाबु पण्डितकै विशेष उपस्थितिमा ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाह र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया शनिबार नेपालगञ्जमा सम्पन्न भयो, जहाँ तीन प्रदेशका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच गहन छलफल समेत चलेको थियो ।
मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको प्रदेश ५, ७ र कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग सो विषयमा छलफल गरिएको हो ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएपछि विशेषतः स्थानीय तहको वित्तीय व्यवस्थापन, जनशक्ति र कानून निर्माणका चुनौतीका विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय, बजेटको बाँडफाँड, कर्मचारी व्यवस्थापन, विकास योजना सञ्चालन गर्दा आउने कानूनी जटिलता लगायतका विषयमा एकरुपता र स्पष्टता ल्याउनुपर्नेमा सहभागीले विशेष जोड दिएका थिए ।
सहभागीको प्रस्तुती सकिएपछि मन्त्री पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको सरकारले विकल्प खोज्न सक्ने अभिव्यक्ति दिए । तोकिएको काममा नजाने कर्मचारीको ठाउँमा अन्य कर्मचारी भर्ना गर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकारप्रति सबै जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
‘कर्मचारीले तोकिएको काम मर्यादित, इमान्दार, पारदर्शी र जवादेही भएर गर्नुपर्छ, आप्mनो मात्र सुख, सुविधा खोज्ने कर्मचारी सरकारलाई चाहिएको पनि छैन’- मन्त्री पण्डितको स्पष्ट भनाइ थियो ।
जनप्रतिनिधिले पनि जनतालाई शिरमा राखेर उनीहरूको इज्जत र मर्यादालाई उच्च सम्मान गरेर फराकिलो दृष्टिकोणवाट काम गर्नुपर्छ भन्दै उनले कर्मचारीलाई सान्त्वना दिन खोजे ।
तस्बिर रासस
प्रतिक्रिया