आन्दोलन फिर्ता लिन शिक्षामन्त्रीको आग्रह

आन्दोलन फिर्ता लिन शिक्षामन्त्रीको आग्रह


शुल्कवृदिविद्ध लगायतका माग उठाएर आन्दोलन गर्दै आएका आठ विद्यार्थी संगठन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबीच वार्ता भएको छ । शनिबार दिउँसो मन्त्री निवास हरिहरभवन ललितपुरमा भएको वार्तामा शिक्षामन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले दिएको जानकारीअनुसार मन्त्री पोखरेलले यही असार २० देखि २२ गतेसम्म विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक आमहड्ताल फिर्ता लिन आग्रह गरेका हुन् ।

विद्यार्थी नेताहरुसँगको छलफलमा मन्त्री पोखरेलले विद्यार्थी संगठनले शैक्षिक विकृति र चर्को शैक्षिक शुल्कको विषयमा उठाएका माग सकारात्मक भएकाले माग सम्बोधन गर्न आफू लाग्ने प्रतिबद्धता जनाएक छन् । उनले विद्यार्थीका माग सम्बोधनका लागि शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई आइतबारदेखि नै गृहकार्य समेत गर्न निर्देशन दिएको बताइएको छ ।

मन्त्री पोखरेलसँगको छलफलमा नेत्रविक्रम चन्द ‘विप्लब’ निकट अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पेशल दाहाललगायत सहभागी थिए ।

मन्त्रीको आग्रहको जवाफमा विद्यार्थी संगठनहरुबाट आधिकारिक तवमा संयुक्त वक्तव्य आउने अपेक्षा गरिएको छ ।