इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा नेतन्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षाद्वारा खसालिएका थिए ।

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वको बीचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भनेका थिए, ‘यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।’

इजरायलले हमासप्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन् । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतंककारी इजरायलले मारेको खुलासा गरेको छ ।

हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको नेतान्याहुले खुलासा गरेका छन्, जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरु रहेका छन् ।