नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारले विगतको निरङ्कुश राजतन्त्रात्मक शासनको झल्को दिएको आरोप लगाएका छन् । आफ्नो पार्टीका दर्जानौँ नेता–कार्यकर्ताहरूलाई सरकारले एकसाथ गिरफ्तार गरेको घटनाप्रति आक्रोशित हुँदै महासचिव विप्लवले एक प्रेस विज्ञप्तिमार्फत् ओली सरकारको आलोचना गरेका हुन् ।
विप्लवद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– ‘कम्युनिस्टको नाममा सामाजिक फासीवादको अभ्यास गरिराखेको केपी ओलीको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएको छ । साथै, संसदीय दलहरूले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानलाई यो सरकारले लत्याइराखेको छ ।’
खासगरी नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि यो सरकारले अघोषित प्रतिबन्ध लगाएको उल्लेख गर्दै महासचिव विप्लवले भनेका छन्– ‘यो सरकार गठन भएदेखि नेकपाका दर्जनौँ नेता–कार्यकर्ताले जेल जीवन बिताएका छन् । सयौं कार्यकताहरुमाथि झुठा मुद्दा लगाइएको छ । दिनदिनै जस्तो गिरफ्तारीलाई बढाइरहेको छ ।’
यसै क्रममा असार १६ गते काठमाडौंमा आयोजित ध्रुवीकरण कार्यक्रममाथि ‘सामाजिक फासीवादी केपी सरकार’ले हस्तक्षेप गरी नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल (असारे काका), पोलिट ब्युरो सदस्य तथा जनपरिषद नेपालका उपप्रमुख एवं पूर्वमन्त्री पदम राई, पोलिट ब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगर लगायतका ४० जनालाई गिरफ्तार गरेर प्रहरी हिरासतमा राखेको महासचिव विप्लवले सो विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । गिरफ्तारीको यस घटनाले आफूलाई वामपन्थी भनेर चुनाव जितेको ‘केपी–पीके कम्पनी’लाई छाडेर नेता–कार्यकर्ताहरू क्रान्तिकारी धारमा समाहित हुन थालेपछि अत्तालिन पुगेको सहजै अनुमान गर्न सकिने उनको ठहर छ ।
गिरफ्तार सबै कमरेडहरुलाई बिना शर्त तुरुन्त रिहाइको लागि नेकपा महासचिव विप्लवले जोडदार माग गरेका छन् । यदि रिहा नगरिएको खण्डमा पार्टी सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी उनले दिएका छन् ।
सोही विज्ञप्तिमार्फत विप्लवले काठमाडौंका विभिन्न स्थानमा सभा–सम्मेनलको आयोजनामाथि पूर्ण प्रतिबन्ध लगाइ सरकारले हिजोकै निरङ्कुश शासनको झल्को दिएको उल्लेख गरेका छन् । सरकारको यस्तो निरङ्कुश कदमको घोर निन्दा गर्नुका साथै, देशभक्त, सच्चा जनवादी, नागरिक समाज एकजुट भएर प्रतिवाद गर्न पनि उनले आव्हान गरेका छन् ।

प्रतिक्रिया