‘समता सम्वाद श्रृंखला’ : विवेकशील साझाको अन्तरक्रियात्मक अभियान

‘समता सम्वाद श्रृंखला’ : विवेकशील साझाको अन्तरक्रियात्मक अभियान


मानव अधिकार, सामाजिक न्याय, समावेशिता, तथा मानव मर्यादालाई केन्द्रविन्दुमा राखेर विवेकशील साझा पार्टीले अन्तरकृयात्मक कार्यक्रम ‘समता सम्वाद श्रृंखला’ संचालनमा ल्याएको छ।

सो पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाबारे मासिक अन्तरकृयात्मक वहस शुरु गरिएको विभागका प्रमुख एवम् सो पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।

श्रृंखलाको पहिलो प्रस्तुति प्रख्यात पुरस्कार ‘फ्रीडम फ्रम फियर’ अवार्डबाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिवारबाटआरम्भ गरिएको हो । समता संवादमा आफ्नो प्रस्तुति राख्दै सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरबाट कमलरी जीवनमा भोग्नुपरेको हिंशा, दमन, विभेददेखि दासतामुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनूभव, भोगाई, सिकाई तथा प्रेरणादायी विचारहरू पस्किइन् ।

समानताको लडइँ सकिएको छैन, असमानता, विभेद र विकृतिविरुद्ध खुलेर बोल्न, सकृयता देखाउन र अभियान संचालन गर्न तपाईंहामी एकजुट हुनैपर्छ भन्ने चौधरीको भनाई थियो ।

समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानता विनाको समृद्धि दीगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशितालाई पार्टीको मुटु भएको संज्ञा दिए। अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए ।

अन्तरकृयालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना र समता अभियानकर्ता प्रतीक क्षेत्रीले सहजीकरण गरेका थिए ।

अन्तरकृयात्मक कार्यक्रम ‘समता सम्वाद श्रृंखला’को अर्को प्रस्तुति आगामी साउन दोश्रो साता हुने विभागले जनाएको छ ।