चिनियाँ यात्रीका दृष्टिमा नेपाली !

चिनियाँ यात्रीका दृष्टिमा नेपाली !


लिच्छविकाललाई नेपाली कलाको स्वर्णयुग पनि भनिन्छ । लिच्छवि आफूहरू वैष्णव (विष्णुका अनुयायी) भए तापनि शैव र बौद्ध धर्मका मूर्तिहरू खडा गर्ने कामलाई उनीहरूले कहिल्यै पनि निरुत्साहित गरेनन् । लिच्छविकालमै सातौँ शताब्दीमा बूढानीलकण्ठको विशाल प्रस्तरमूर्ति बनाइएको हो । काठमाडौं शहरदेखि केही किलोमिटर उत्तरमा रहेको, शेषनागमाथि सुतेका नारायणको यो मूर्ति ५ मिटरभन्दा लामो छ ।

यसै अवधिमा चिनियाँ भिक्षुहरू उसबेला नेपालका नाम चलेका विभिन्न ठाउँमा तीर्थ गर्न भनेर आएका थिए । त्यसरी आउने चिनियाँ यात्री हुवेन साङले लिच्छविकालका राजा अंशुबर्मा (शासनकाल सन् ६०५–६२१) बारे लेखेका छन् । उनले अंशुबर्मालाई बुद्धि, दया र वीरतामा प्रसिद्ध थिए भनेका छन् । चीनका ताङवंशी राजाहरूको वंशावलीअनुसार चिनियाँ दरबारका दूतहरू नेपाल खाल्डोमा सन् ६४६ मा आएका थिए, जुनबेला अर्का नामुद लिच्छवि राजा नरेन्द्रदेव गद्दीमा थिए । त्यस समय चिनियाँहरूले लेखेका वृत्तान्तमा नेपालका बासिन्दाहरूलाई चतुर, हिंस्रक र घिनलाग्दा बताइएको छ । तर, उनीहरूले दरबारमा पाएका सम्मान र सुखसुविधा तथा शहरमा देखेका विशिष्ट शैलीका भवनहरूबाट भने उनीहरू खुवै प्रभावित भएका थिए । नेपालका राजासित सुन, हीरा, मोती र जवाहरातको ठूलो सम्पत्ति छ र त्यहाँका मानिस नाच्नगाउन औधी मन पराउँछन् तथा ज्योतिषशास्त्रमा साहै्र विश्वास गर्छन् भनी चिनियाँहरूले उसबेला लेखेका थिए । बाहिरबाट आएका आगन्तुकहरूलाई मुग्ध पार्ने यी चारीत्रिक विशेषताहरू नेवारहरूमा अझै पाइन्छन् ।

चीनसितको बढ्दो सम्बन्धका कारण कालान्तरमा भारतमा पनि नेपालको प्रतिष्ठा बढ्न गयो । त्यहाँ नेपालका राजालाई झर्रा क्षत्रीय मान्न थालियो । यसरी बढ्न गएको प्रतिष्ठा र वैवाहिक सम्बन्धको थालनीले गर्दा नेपाल र भारतबीचका सांस्कृतिक सम्बन्धहरू झनै गाढा हुँदै गए ।

लिच्छविकालपछि नेपालको इतिहासमा एउटा यस्तो चरण आउँछ जसबारे धेरै कुरा थाहा हुन सकेको छैन । त्यस चरणमा ठकुरी राजाहरूको चर्चासम्म पाइन्छ, तर उनीहरू कहिले र कहाँबाट आए तथा उनीहरूको शासन कस्तो थियो भन्नेबारे केही लेखोट पाइँदैन । त्यस अवधिका शासकहरूलाई पछि वंशावली लेख्नेहरूले ‘ठकुरी’ पदावली प्रयोग गरेका हुन् भन्ने अनुमान गरिन्छ । नेपालमा ‘राजपूत शासकहरूलाई ‘ठकुरी’ भन्ने गरिन्थ्यो । भारत र नेपालका हिन्दू शासकहरूले आफूलाई राजपूतको वंशज भएको दाबी गर्ने गरेको तथ्य सबैलाई ज्ञातै छ ।

पहिलो ठकुरी राजा राघवदेवले सन् ८७६ मा नेपाल सम्वत् चलाए । यस सम्वत्को नयाँ वर्षारम्भलाई नेवारहरू उत्साह र उमङ्गसाथ एउटा महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाउने गर्दछन् । काठमाडौं शहरको स्थापना पनि अर्का ठकुरी राजा गुणकामदेवले दशौँ शताब्दीको उत्तरार्धमा गरेका हुन् भनिन्छ । त्यतिन्जेलसम्म बौद्ध धर्म नेपालमा लामो समयदेखि पूर्ण स्थापित भइसकेको थियो र उसबेला निकै प्रभावशाली रहेको हिन्दूधर्मसित शान्तिपूर्ण ढङ्गले मिलेर रहँदै आएको थियो । यद्यपि हिन्दूधर्ममा दक्षिणतिरबाट कट्टरपनाको प्रभाव भित्रिने क्रम पनि जारी नै थियो । साथै, नेपालमा गरिने बौद्धधर्मको अभ्यासमा त्यस समय बौद्धधर्ममा देखापरेको फुटको असर पनि पर्दै गएको थियो । तर, सामान्य जनता भने पहिले नै भूतप्रेतमा बढी विश्वास मान्थे । यस्तो अवस्थामा बज्रयान नामको एउटा नयाँ धार्मिकपन्थले नेपालमा प्रवेश ग¥यो । ‘बज्रयान’ अथवा ‘बज्र सिद्धान्त’ अहिलेको बिहार र बंगालमा पर्ने पाल अधिराज्यमा हुर्किएको थियो । ती ठाउँहरूमा मुस्लिमहरूको अतिक्रमण भएपछि त्यस सिद्धान्तको प्रभाव नेपालमा पर्न गयो । तन्त्रमन्त्रका सिद्धान्त र कर्मकाण्डको ठूलो भूमिका रहेको बज्रयानपन्थ स्थानीय चालचलन र धार्मिक परम्परासित पूरै घुलमिल हुन गयो । त्यस नौलो पन्थले स्त्रीशक्तिको पूजा गर्ने र कामोद्दीपक कर्मकाण्ड मान्ने स्थानीय परम्परालाई पनि सहजै आत्मसात् गऱ्यो । प्यागोडा शैलीका मन्दिरका हुँडालहरूमा पाइने रतिक्रीडाका विभिन्न आसनका कलाकृतिहरूले उपत्यकाको बौद्ध धर्ममा बज्रयानले पारेको प्रभावलाई दर्शाउँछन् ।

(‘नेपालको चिनारी’ : टोनी हागन)