माओवादी फुट्नभन्दा जुट्न मुस्किल

माओवादी फुट्नभन्दा जुट्न मुस्किल


-देवप्रकाश त्रिपाठी
शान्ति-सम्झौतामार्फत राजनीतिको मूल प्रवाहमा सामेल भएको पाँच वर्ष पुग्दै गर्दा नेकपा माओवादीमा नेताहरूबीचको अन्तरसङ्घर्ष उत्र्षमा पुगेको छ । तत्काल कुनै चामत्कारिक मोड दिइएन भने माओवादीलाई एउटै पार्टीका रूपमा देख्ने दिन छोटिएको छ । दुई दशकदेखि पार्टीको नेतृत्व सम्हालिरहनुभएका प्रचण्डको अधिनायकवादी, अराजकतावादी एवम् हैकमवादी कार्यव्यवहार पार्टीमा द्वन्द्व बढ्नुको प्रमुख कारण मानिएको छ । नेताहरू मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै धु्रवमा उभिएर प्रचण्डको सोच र शैलीका विरुद्ध आवाज उठाउन थालेपछि माओवादीमा अन्तरद्वन्द्व चर्किएको हो । प्रचण्डलाई प्राधिकारको हैसियतमा व्यवहार गर्दै सर्वस्वीकार्य नेताको रूपमा सम्मान दिइन्जेलसम्म उक्त पार्टीमा विभाजनकै रेखा कोरिने तहसम्मको मनमुटाव र मतभिन्नता देखिएको थिएन । प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै विकल्पबारे सोच्न थालिएपछि माओवादीभित्रको द्वन्द्वले अर्को र चर्को रूप लिएको हो । यतिबेला पार्टीका तीनैजना नेताहरूले सँगै हिँड्न मुस्किल हुने ठान्न थालेका छन् । स्वयम् प्रचण्डले पनि पार्टी एक रहन नसकिने अवस्था आएको स्वीकार गर्दै अब संयुक्त मोर्चाका रूपमा मात्र सहकार्य गर्न सकिने अभिव्यक्ति निकटवर्तीहरूसँग दिन थाल्नुभएको छ ।
पार्टीका तीन प्रमुख नेताहरूमध्ये मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीच सीधा वैचारिक सङ्घर्षको स्थिति छ । वैद्य जनवादी राज्यसत्ता स्थापनाको निम्ति यथाशीघ्र जनविद्रोहको कार्यनीतिक तयारीमा जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने डा. भट्टराई शान्ति र संविधानलाई टुङ्गोमा पुर्याएर प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत एवम् सुदृढ तुल्याउँदै जनवादी राज्यसत्ता स्थापनाको चरणमा प्रवेश गर्नुपर्छ भन्ने विचार राख्नुहुन्छ । तर, पार्टी अध्यक्ष प्रचण्डको भने आफ्नै कुनै बेग्लै लाइन देखिँदैन । समय, परिस्थिति र परिवेशअनुसार उहाँ कहिले बाबुरामको विचार सापटी लिएर शान्ति र संविधानको पक्षमा अभिव्यक्ति दिनुहुन्छ भने कहिले वैद्यलाई समेत माथ गर्नेगरी जनविद्रोहको औचित्य पुष्टि गर्न खोज्नुहुन्छ । प्रचण्डको व्यवहार, कार्यशैली र सोचलाई वैद्य र भट्टराईले अवसरवादी एवम् टापटिपे चरित्र भनी टिप्पणी गर्ने गर्नुभएको छ । वैद्य र भट्टराईबीच वैचारिक मतभिन्नता तीव्र भए पनि उहाँहरूबीच उच्चस्तरको राजनीतिक समझदारी देखिन्छ । कम्युनिस्ट पार्टीमा वैचारिक सङ्घर्षको अनिवार्यतालाई बुझेका दुवै नेताहरू मत-मतान्तरहरूलाई व्यवस्थित गर्दै आपसी सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध रहनुभएको ठानिन्छ । त्यसैले पार्टी विभाजन हुँदा पनि वैद्य र भट्टराई एकातिर र प्रचण्ड अर्कोतिर हुनसक्ने सम्भावना छ । यही सम्भावनालाई दृष्टिगत गरी प्रचण्डले किरण पक्षलाई विशेष ढङ्गले ‘ट्रिट’ गर्ने गर्नुभएको छ ।
प्रचण्डको कार्यशैली र उहाँमा विद्यमान अहङ्कारजन्य उन्मादले पनि वैद्य र भट्टराईलाई एकताबद्ध रहन बाध्य तुल्याएको बताइन्छ । तीन नेताहरूमध्ये प्रचण्ड आफूलाई पार्टीमा सबभन्दा बलवान ठान्नुहुन्छ । लडाकु कमाण्डरहरू वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर र बलदेव तथा वाईसीएल आफ्नो पक्षमा रहनुलाई प्रचण्डले ठूलो शक्तिका रूपमा बुझनुभएको छ । तर, लडाकु र वाईसीएलको तल्लो तहको
र्सवाधिक ठूलो हिस्सा मोहन वैद्य किरणको र्समर्थनमा रहेको बताइन्छ । वैद्य र बाबुराम एक ठाउँमा रहँदा लडाकु, कार्यकर्ता र संविधानसभाका बहुसङ्ख्यक सदस्यहरू उहाँहरूकै र्समर्थनमा रहन सक्ने ठानिएको छ । वैद्य र भट्टराई विचारमा भिन्नता भए पनि व्यवहारमा एकताबद्ध देखिएपछि उहाँहरूको एकताबद्ध शक्तिलाई छिन्नभिन्न तुल्याउन प्रचण्डले अनेक प्रयत्न गर्दै आउनुभएको छ । सरकारमा माओवादीको सहभागिताका क्रममा पनि प्रचण्डले छिड्के हानेर मोहन वैद्य किरणलाई निकै अप्ठ्यारोमा पारिदिनुभयो । वैद्य र भट्टराईबीच सरकारको नेतृत्व सीपी गजुरेल ? शीतलकुमार)लाई गराउने सहमति भएको थियो । यो थाहा पाएपछि प्रचण्डले वैद्यको खाँटी र्समर्थक मानिएका कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने प्रस्ताव राखिदिनुभयो । यसरी महराको नाम प्रस्ताव गर्दा वैद्य र भट्टराईले असहमति जनाउँदै विरोध गर्नुहुन्छ र उहाँहरूले सीपी गजुरेललाई अघि सार्नुहुनेछ भन्ने विश्वास प्रचण्डको थियो । तर, प्रचण्डको चालबाजीलाई बुझेर वैद्य र भट्टराई मौन रहनुभयो । गजुरेललाई अघि बढाउन उहाँहरूले सक्नुभएन, महरालाई नगुमाउन वैद्यले प्रचण्डकै प्रस्तावलाई स्वीकार गर्नुपर्यो ।
पार्टीले गृह मन्त्रालय आफूले पाउनेमा विश्वास गर्दै देव गुरुङलाई गृहमन्त्री बनाउने निर्णय गरेको छ । तर, प्रचण्डले कृष्णबहादुर महरालाई पार्टी निर्णय विपरीत गृहमन्त्री बनाइदिने वचन दिनुभएको छ । महरालाई गृहमन्त्री बनाइने आश्वासन मात्र दिँदा पनि उहाँ वैद्यलाई छोडेर आफूतिर आउने विश्वास प्रचण्डले गर्नुभएको बुझिन्छ । गृह मन्त्रालयको सवालमा चाहिँ ‘सीपी गजुरेल प्रकरण’मा झैं मोहन वैद्य मौन रहनुहुने ठानिँदैन । प्रचण्डले महरालाई गृह जिम्मा लगाउन खोजेमा त्यसको खुलेर विरोध हुने र देव गुरुङलाई गृहमन्त्री नबनाइएमा मोहन वैद्य आफ्ना र्समर्थकहरूको साथ लिएर सरकारलाई दिएको र्समर्थन फिर्ता लिने मुडमा हुनुहुन्छ । त्यस्तो अवस्थामा वैद्यलाई भट्टराईको पनि पूर्ण साथ रहने निश्चित छ ।
प्रचण्डले डा. बाबुराम भट्टराईमाथि पार्टी कारबाही गर्न दर्जनभन्दा बढीपटक प्रयास गर्नु हुँदा आफू व्यवधान बनेर मोहन वैद्यले कारबाही हुनबाट भट्टराईलाई जोगाउँदै आउनुभएको छ । अहिले पनि वैद्यको अवरोध नहुने हो भने प्रचण्डले बाबुराममाथि कारबाहीको डण्डा वर्षाउनुहुने निश्चित छ ।
मोहन वैद्य र बाबुराम भट्टराई दुवैलाई ‘समाप्त’ गरेर पार्टीमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्न इच्छुक भए पनि दुवैलाई एकैपटक सिध्याउन नसकिने अवस्था रहेकोले प्रचण्ड पहिले बाबुरामलाई मात्र किनारा लगाउन चाहनुहुन्छ । बाबुरामलाई खेद्न वैद्यको सहयोग लिने र वैद्यलाई चाहिँ त्यसपछि मात्र विस्थापित गर्ने योजनामा प्रचण्ड रहनुभएको बुझिन्छ । यही यथार्थलाई बुझेर हुनुपर्छ मोहन वैद्य बाबुराम भट्टराईको सुरक्षाप्रति समेत सचेत रहँदै आउनुभएको छ । बरु पार्टी अध्यक्षबाट प्रचण्डलाई हटाउने चाहना वैद्यले राख्नुभएको बुझिन्छ । वैद्यले त्यस निम्ति पहल गर्नुभएमा उहाँलाई बाबुरामको पूर्ण साथ रहने अवस्था छ ।
पार्टी केन्द्रीय समितिद्वारा हालै गठित जनस्वयम्सेवक परिचालन ब्युरोको गठनमा पनि वैद्य र भट्टराई एकातिर, प्रचण्ड अर्कोतिर भएको देखियो । प्रचण्डको चलेको भए त्यस्तो ब्युरोप्रमुखमा आफैं या आफूले रोजेको मानिस चयन हुनसक्थ्यो । तर, वैद्य र बाबुरामले प्रभावी युवा नेता नेत्रविक्रम चन्दको नाम प्रस्ताव गर्नुभएपछि प्रचण्डको केही लागेन । आफ्नो चाहनाविपरीत नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा ब्युरो गठन भएपछि प्रचण्ड उक्त ब्युरो र ब्युरोको कामलाई सङ्कुचित र कमजोर तुल्याउन भित्रभित्रै क्रियाशील हुनुभएको छ । गत साताको एक घटनाले पनि प्रचण्डको नियतको पुष्टि गरेको छ । लडाकु, वाईसीएल, महिला, विद्यार्थी र मजदुरलगायतलाई एकीकृत ढङ्गले परिचालन गर्न गठित जनस्वयम्सेवक परिचालन ब्युरोले देशको पचहत्तरवटै जिल्लामा आफ्नो साङ्गठनिक संरचना खडा गर्ने योजना बनाएको छ र सोही अभियानलाई कार्यरूप दिने अभियानको आरम्भ गर्दै ब्युरोले गत साता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । चैत ७ गते हल्चोकमा हजारौँ युवालाई भेला गरी ब्युरोले राष्ट्रव्यापी कार्यक्रमको घोषणा गर्नुका साथै एक स्तम्भको शिलान्यास गर्ने कार्यक्रम आयोजना गरेको थियो । तर, प्रचण्डले ‘त्यस्तो कुनै ठूलो भेला र राष्ट्रव्यापी कार्यक्रम नगर्नू, स्तम्भको शिलान्यास मात्र गर्नू’ भनी ब्युरोप्रमुख विप्लवलाई निर्देशन दिएपछि विप्लवले सम्पूर्ण कार्यक्रम नै स्थगित गरिदिनुभयो । पार्टीको केन्द्रीय समितिले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न आफू दृढ रहेको बताउँदै नेत्रविक्रम चन्द राष्ट्रव्यापी अभियानको तयारीमा रहनुभएको छ । प्रचण्डले भने ब्युरोको कामलाई अत्यन्त सङ्कुचित र सानो घेरामा सीमित राख्ने प्रयास गर्नुभएको छ । विप्लव मोहन वैद्य र्समर्थक भएको हुँदा उहाँको हातमा शक्ति जाँदा आफ्नो हैसियत र राजनीतिक भविष्यमा खतरा उत्पन्न हुनसक्ने ठम्याइ प्रचण्डको छ । आफ्नो निर्देश र इच्छाविपरीत विप्लव (नेत्रविक्रम)ले ब्युरोको कार्यक्रम अघि बढाउनुभएमा प्रचण्डले थप प्रतिक्रिया कसरी जनाउनुहुने हो त्यसको प्रतीक्षा हुँदै छ, तर प्रचण्डले रोकेर रोकिने अवस्थामा चाहिँ विप्लव हुनुहुन्न । उहाँलाई मोहन वैद्य र बाबुरामले ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको पनि छ । तथापि वाईसीएलका अगुवा र अन्य केहीलाई उठाएर प्रचण्डले विप्लवको भूमिकालाई नियन्त्रण गर्ने कार्यलाई तेज बनाउनुभएको छ ।
मन्त्रिमण्डलमा माओवादीका तर्फबाट पठाइने प्रतिनिधिहरू पनि तीन नेताहरूको भागवण्डामा परेका छन् । जसअनुसार प्रचण्ड र मोहन वैद्यका चार-चार तथा बाबुराम भट्टराईका दुई र्समर्थकहरूले सरकारमा सहभागिता जनाउनेछन् । वैद्यको तर्फबाट चारैजनाले सरकारमा प्रतिनिधित्व गरे पनि प्रचण्डको कोटामा दुईजना मात्र मन्त्रिमण्डलमा छन् । महरा र वर्षमान पुनमध्ये वर्षमान यसअघि बाबुराम र्समर्थकका रूपमा चिनिन्थे भने महरा अझै पनि वैद्यनिकट नै मानिनुहुन्छ । ‘रिक्त दुई स्थान’मा पनि वैद्य-बाबुरामकै र्समर्थकलाई सिकार गरेर भर्ने योजना प्रचण्डको रहेको बुझिन्छ । समग्रमा प्रचण्ड माओवादी पार्टीलाई सम्पूर्ण रूपले आफ्नो पकडमा लिन प्रयासरत देखिनुहुन्छ । उहाँले मातहतका कमिटी र जनवर्गीय सङ्गठनका आफ्ना र्समर्थकहरूलाई वैद्य र भट्टराईका र्समर्थकहरूप्रति निर्मम एवम् कठोर हुन गुप्त निर्देशन दिनुभएको बताउन थालिएको छ । प्रचण्डले आफ्ना आलोचकप्रति अपनाएको कठोर व्यवहारका सङ्केतहरू मजदुर सङ्गठन र पार्टीको स्थानीय तहहरूमा देखिन थालिसकेका छन् । यसक्रममा बाबुराम भट्टराईलाई उहाँकै गृहजिल्लामा तेजोबध गर्ने कार्य आरम्भ भइसकेको छ भने विभिन्न जिल्लामा कार्यकर्ताबीच विवाद, तनाव, झगडा र गोली हानाहानसमेत सुरु भएको छ । अनेक आरोपमा एक-अर्का र्समर्थकलाई प्रहरी प्रशासन लगाएर गिरफ्तार गराउने र समानान्तर जस्तै लाग्ने कमिटी गठनसमेत गर्न थालिएका छन् । मजदुर फाँटमा त तीन नेताका तीन कमिटीहरू नै क्रियाशील हुन थालेका छन् । पार्टीको उपल्लो तहका कुनै पनि नेतालाई अब माओवादी एउटै पार्टीको रूपमा रहने विश्वास हुन छोडेको छ । त्यसैले सबै नेताहरूले जनसर्म्पर्क अभियानलाई तीव्र बनाएका छन् । यसअघि सुस्त र सीमित गतिविधिमा रमाउने ठानिएका नेता डा. बाबुराम भट्टराईले समेत देश दौडाहा कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाउनुभएको छ । सँगै अघि बढ्न सकिने अवस्था नरहेकोमा माओवादीका प्रमुख नेताहरू स्पष्ट भए पनि विभाजन गराएको आरोपबाट जोगिन भने उहाँहरू सचेत देखिनुहुन्छ । कदाचित माओवादी पार्टी विभाजित भइहाल्यो भने देशको राजनीतिले कुन मोड लिनसक्ला ? यसको जवाफ प्राप्त गर्न अरू केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।