यसरी सम्पन्न भयो धादिङमा परम्परागत लाखे जात्रा

यसरी सम्पन्न भयो धादिङमा परम्परागत लाखे जात्रा


  • विकाश रौनियर, धादिङ

धादिङको सदरमुकाम धादिङबेसीका नेवार समुदायले गाईजात्राको दिनदेखि शुरु गरेको लाखे जात्रा (लाखेनाच)को शनिबार (२२ भदौ) विधिवत रुपमा समापन गरेका छन् ।

झिंगु नेवाः समाज धादिङको अगुवाईमा शुरु भएको जात्राको शनिबार लाखे मारेर समापन गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

डरलाग्दो भुतको रुपमा रहेको लाखेलाई भगवान कृष्णले बाँसुरी बजाएर आफ्नो मायाजालमा पारी शिर छेदन गरि मार्ने गरिन्छ । यो परम्परा धादिङमा जारी छ । नेवार समुदायको आस्था र परम्परागत संस्कृतिको प्रतिबिम्बको रुपमा लाखेनाच परिचित छ । विभिन्न कला र संस्कृतिमध्ये धादिङबेसी बजारमा देखाइने लाखेनाच सबैभन्दा चर्चित छ ।

नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौंदेखि चल्दै आएको मौलिक, सांस्कृतिक र जातीय पहिचान हो । लाखेनाचको प्रदर्शनले नेवारी समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ । बिसर्जन गर्ने क्रममा जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद वितरण गरिएको छ ।

अन्य समयमा रोक लगाइएको तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई खुवाएर जात्राको रौनक र नेवारी समुदायको झलक दिइएको थियो । लाखे निकाल्ने दिनदेखि लाखे बिसर्जनका बीचमा गाइजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा लगायतका पर्वहरु मनाइएको हो ।