मुनलाइटद्वारा विद्यार्थीलाई सम्मान

मुनलाइटद्वारा विद्यार्थीलाई सम्मान


पुनहरि बेल्वासे

भैरहवा क्षेत्रको शैक्षिक क्षेत्रमा अब्बल रहेको मुनलाइट आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा २०७४ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीलाई नगद, मायाको चिनो र खादा ओढाएर सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि समाजसेवी भीमराज अधिकारीले सिद्धार्थनगर नगरपालिकामा मुनलाइट विद्यालय उत्कृष्ट विद्यालय भएको बताउँदै आफ्नो अभिभावकको अवस्था र स्थितिलाई ख्याल गर्दै अभिभावकको आशालाई इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए । शिक्षा महँगो बन्दै गएकोले अभिभावकको आर्थिक अवस्थालाई मध्यनगर गरी विद्यार्थीले निर्णय गर्नुपर्ने प्रमुख अतिथि अधिकारीले बताए ।

विद्यालयका सञ्चालक समितिका कोषाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजेश खरेलले मुनलाइट विद्यालय उत्कृष्ट विद्यालय भएकोले उच्च शिक्षाका लागि अन्यत्र जानु नपर्ने बताउँदै कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षाका विषय पढ्नका लागि मुनलाइट विद्यालयलाई नै रोज्नुपर्ने बताए ।

मुनलाइट आवासीय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७४ मा ७९ जना एसईई परीक्षामा संलग्न भएका थिए । ७९ जना विद्यार्थीमध्ये ४ जनाले ए प्लस, २४ जना ए, २४ जना बी प्लस, २५ जना बी, ९ जना सी प्लस र ३ जना सी ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्राचार्य राजेशराज जोशीले जानकारी दिए । शिक्षक, शिक्षिका र अभिभावकले विद्यार्थीलाई जहिले पनि सही बाटोमा हिँड्न प्रेरित गर्ने भएकाले विद्यार्थी इमानदारी र मिहिनेतले सधँै सफल हुने प्राचार्य जोशीले बताए ।

विद्यालयका शिक्षक राजन पौडेलले जीवनको ठूलो कुरा कुन चिज हो भन्ने कुरालाई मनन गर्दै अगाडि बढ्यो भने सफल र असल बन्न सकिने बताउँदै व्यवस्थापन र शिक्षाका विषय पढ्न अन्यत्र जानु नपर्ने बताए ।

भैरहवा तुलनात्मक रूपमा एसईई परीक्षालाई हेर्दा उत्कृष्ट नतिजा भएको र उच्च शिक्षाका लागि अन्यत्र जाँदा समयको खर्च र भर्ना तथा मासिक शुल्क धेरै हुने भएको हुँदा विद्यार्थीले भैरहवा क्षेत्रकै उत्कृष्ट विद्यालय मुनलाइट विद्यालयलाई रोज्नुपर्ने शिक्षक बालकिसुन कुर्मीको भनाइ थियो ।
०६२ देखि एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आएको बताउँदै व्यवस्थापन र शिक्षा विषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने जनसम्पर्क अधिकारी तथा प्लस टु को–अर्डिनेटर टीकाराम भट्टराईले बताए ।

विद्यालयले ए प्लस ल्याउने ४ जना विद्यार्थी आकृति ज्ञवाली, आशीष पौडेल, विजय अग्रहरी र राजु अधिकारी जनही पाँच हजार नगद र सम्मानपत्रले सम्मानित भएका थिए । त्यस्तै, ए ग्रेड ल्याउने २४ जना विद्यार्थी जनही ३ हजार नगद र खादाले सम्मान भएका थिए भने अन्य सबै विद्यार्थीलाई माला र टीकाले सम्मान गरिएको थियो । त्यस्तै, समाजसेवी ओमकार गौचनले स्वर्गीय आमाबुबाको नाममा स्थापना गरेको मीनबहादुर–पदमकुमारी गौचन अक्षय कोषबाट मुनलाइट विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एकजना छात्रालाई नगदले सम्मान गरेको छ । प्रथम हुने छात्रा आकृति ज्ञवालीलाई नगद ४ हजार १ रुपैयाँ र प्रथम हुने छात्र आशीष पौडेललाई नगद ३ हजार १ रुपैयाँले सम्मान गरिएको थियो ।
टीकाराम भट्टराईको स्वागत मन्तव्य र विष्णुप्रसाद लम्सालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।