बेपत्ता पौडेलको खोजीका लागि उच्चस्तरीय समिति गठनको माग

बेपत्ता पौडेलको खोजीका लागि उच्चस्तरीय समिति गठनको माग


दश दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस कास्कीले माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै खोजीलाई प्रभावकारी बनाउन माग गरेको हो ।

अवस्था अज्ञात रहेकै अवस्थामा गत शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनु र सोही बेला कास्की प्रहरी प्रमुखले व्यक्त गरेका अभिव्यक्ति तथा सार्वजनिक गरेका घटना विवरणप्रति पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । महानगरपालिकाले पौडेललाई जिम्मेवारीबाट हटाउने र मनोबल गिराउने किसिमबाट गरिएका व्यवहारको छानवीन गर्न पार्टी सभापति केसीले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बेपत्ताको खोजीलाई प्रशासनले निरन्तर रूपमा अघि बढाएको बताउँदै दबाब वा अन्य मनोवैज्ञानिक तनावका कारकको खोजी एवं अनुसन्धान गरिने उल्लेख गरे ।

ज्ञातव्य छ, बेपत्ता पौडेललाई कार्यालयमा हतोत्साहित तुल्याउने व्यवहार गरिएपछि उनी चिन्तित बन्न पुगेका सम्बद्ध निकटवर्तीहरुले दाबी गर्दै आएका छन् ।