खेलकुद मन्त्रालयमा ब्रह्मलुट

खेलकुद मन्त्रालयमा ब्रह्मलुट


sportबजेटको दुरुपयोग
युवा तथा खेलकुद मन्त्रालयलाई भ्रष्टाचारले गाँजेपछि त्यहाँ कालो कर्तुत गर्नेहरूको पर्दाफास भएको छ । यसरी मन्त्रालयको बजेटलाई बाँडिचुँडी सिध्याउनेहरूमा सचिव, सहसचिव र उपसचिवहरूको विशेष भूमिका रहेको स्रोतले दाबी गरेको छ । अझ यही वर्ष अवकाश पाउन लागेका सहसचिवद्वय वैकुण्ठप्रसाद काफ्ले र शान्तिरामले मन्त्रालयको रकम कुल्याउनमा विशेष रुचि देखाउँदै तत्परताका साथ लागेको थाहा भएको छ । सहसचिवद्वयले नोकरीको अन्तिम समयमा आफूहरूलाई सुक्खा मन्त्रालय परेको गुनासो गर्दै जसरी पनि पैसा कमाउनुपर्छ भन्ने कुभावना राखेपछि मन्त्रालयमा यस्तो बेथिति मच्चिएको त्यहाँकै एक कर्मचारीले बताए । उनीहरूले अहिलेसम्म आपसी मिलेमतोमा लाखौँको भ्रष्टाचार गरिसकेको र असार मसान्तलाई मध्यनजर राखेर लाखौँ असुल्ने योजना बनाएको पनि खुलासा भएको छ ।
मन्त्रालयको सर्वेसर्वा मन्त्री भए पनि त्यहाँका कर्मचारीले मन्त्रीलाई गुमराहमा राख्दै आफ्नो दुनो सोझ्याउँदै आएको वर्षौं भइसकेको छ । संविधानसभाको चुनावपश्चात् खेलकुद मन्त्रालयले ६ जना मन्त्री हितबहादुर तामाङ, ओनसरी घर्ती, कमला रोक्का, ईश्वर पोखरेल, बाबुराम भट्टराई र रामकुमार श्रेष्ठलाई पाए पनि ती मन्त्रीहरूले मन्त्रालयमा पकड राख्न नसक्दा कर्मचारीहरूको हालिमुहाली बढेको थियो । मन्त्री बन्नका लागि मात्रै खेलकुदमन्त्री बनेका उनीहरूले यहाँबाट आफ्नो राजनीतिक र आर्थिक स्वार्थ पूरा नहुने देखेपछि कर्मचारीलाई नै सर्वेसर्वा बनाएका थिए । जुन यद्यपि जारी छ । यसरी मौकामा चौका हान्दै तिनै कर्मचारीले मन्त्रालय चलाउन थालेपछि सर्वप्रथम मन्त्रालयको बजेटमाथि गिद्देदृष्टि राखेका थिए । पछि मन्त्रालयको बजेट सखाप पार्न सलहझैं लागेका यी कर्मचारीले अहिले विभिन्न शीर्षकमा बजेटको दुरुपयोग गर्दै तेहोरो फाइदा लिइरहेको सूत्रले बताएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको पूर्ण बजेट १२ करोड ६० लाख ४९ हजारको छ । जसमा युवा स्वरोजगारतर्फ दुई करोड ७० लाख, युवा परिचालन कार्यक्रमतर्फ ६ करोड ४७ लाख ३४ हजार, अतिरिक्त क्रियाकलापतर्फ तीन करोड ८४ लाख ३२ हजार र सूचना केन्द्रअन्तर्गत १८ लाख ७५ हजार रहेको छ । मन्त्रालयले वर्षभरि यिनै शीर्षकमा बजेट खर्च गर्ने भए पनि सही व्यक्तिको हातमा अहिलेसम्म उक्त रकम नपरेको बुझिएको छ । मन्त्रालयको बजेटमाथि ओथारा बसेको कुखुराझैं बसेका सहसचिवद्वय वैकुण्ठप्रसाद काफ्ले र शान्तिरामले जथाभावी स्वेच्छाले आफ्ना नातागोता र आफन्तलाई रकम बाँडेको सूत्रकोे दाबी छ । पैसा कमाउने खेलमा लागेका उनीहरूले बिनाकार्यविधि रकम प्रदान गरेर आधा रकम दिने आधा खाने गरेको बुझिएको छ । आफ्ना नातागोता र आफन्तलाई बिनाप्रक्रिया निवेदन दिएको भरमै रकम प्रदान गर्दै आएका उनीहरूले पछि उनीहरूसँग पनि मोटो रकम असुलेको थाहा भएको छ । यसरी बिनाआधार रकम प्रदान गर्ने, दिएकै बेला आधा रकम असुल्ने र पछि पुन: लालच देखाउँदै अरू रकम पनि असुल्दै तेहोरो फाइदा लिइरहेको सूत्रको दाबी छ । यसरी बिनासूचना आफन्त र जोकोहीलाई जथाभावी रकम प्रदान गरेर व्यापक भ्रष्टाचार गरिरहेका सहसचिवद्वयप्रति मन्त्रालयले अनदेखी र अनसुनी गर्नु अर्को विडम्बना भएको छ । आफ्नै नाकमुनि यस्तो भ्रष्टाचारको घिनौनो खेल हुँदासमेत मन्त्री र सचिवको अनविज्ञता कतै दालमा कालो त छैन, प्रश्न उठ्नु स्वाभाविकै हो । अन्यथा यस्ता भ्रष्टाचारीलाई मन्त्रालयले किन कारबाही गर्न सकेको छैन, किन अख्तियारलाई गुहार्न सकेको छैन ? मुद्दा गम्भीर बनेको छ ।
वास्तविक रूपमा भन्नुपर्दा युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीको कार्य भनेको डुल्ने, घुम्ने र खाने मात्रै हो भन्दा अतिसयोक्ति नहोला । खान पाउने भएकै कारणले उनीहरूले अतिरिक्त क्रियाकलापलाई बढी जोड दिएका छन् । राष्ट्रपति रनिङ सिल्ड यसैको एक उदाहरण हो । यो प्रतियोगितामा एथलेटिक्स र भलिबललाई समावेश गरेर खेलाउन थालेको पाँच वर्ष पुगिसक्दासमेत यसले आफ्नो औचित्य र सार्थकतालाई पुष्टि गर्न सकेको छैन । वर्षेनी राष्ट्रपतिको नाउँ भजाएर एक करोड ४० लाख खर्च गर्दै आएको मन्त्रालयको हातमा उपलब्धिहीन र शून्य मात्र लागेको छ । तर, तीन करोड ८४ लाख ३२ हजार बजेट रहेको यो शीर्षकको बाँकी रकम भने मन्त्रालयका कर्मचारीले खाएर डकार्ने गरेको खुलासा भएको छ । स्मरणीय छ, खेलकुद मन्त्रालयले खाजा, खाना, विदेश भ्रमण र ओभरटाइममा करोडौँको बजेटको दुरुपयोग गर्दै स्वाहा गर्दै आएको बुझिएको छ । अर्को वर्षदेखि राष्ट्रपति रनिङ सिल्डमा उसु, कराते र तेक्वान्दो थपिने भएपछि माथि उल्लिखित बजेटमा काम गर्न नसक्ने भन्दै मन्त्रालयले हात खडा गरिसकेको छ । त्यस्तो अवस्था आए राष्ट्रिय खेलकुद परिषद्लाई आयोजनाको सम्पूर्ण जिम्मेवारी सुम्पने मन्त्रालयले तयारी गरेको छ ।
अन्य मन्त्रालयमा काम नलाग्ने भएपछि अर्थात् ‘सजाय’ दिन सरकारले कर्मचारीलाई खेलकुद मन्त्रालयमा पठाउँछ । अझ उनीहरूलाई खेलकुदको ‘खे’सम्म थाहा नहुने भएकाले राखेपसँग तालमेल नमिल्नु स्वाभाविकै हो । यस्तो अवस्थामा राखेपले खेलकुदको कुनै दूरदर्शी योजना बनाएर मन्त्रालयमा गयो भने उनीहरू आफूलाई खेलकुदको धुरन्धर खेलाडीको रूपमा प्रस्तुत हुन्छन् । यसो हुँदैन, उसो हुँदैन भनेर खेलकुदका विज्ञलाई सिकाएर पठाइदिन्छन् । मन्त्रालयका कर्मचारीको यही झुटो शान, गलत रवैया र क्षुद्र मानसिकताका कारणले अहिलेसम्म पनि राखेपसँग सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन । सुदूरपश्चिमाञ्चलमा गत वर्ष सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मन्त्रालयले बारम्बार ‘छेको’ हाल्दा उत्पन्न भएको समस्या जगजाहेरै छ । मन्त्रालयका पदाधिकारी विभिन्न वहानामा छैटौँको आयोजनाको विरुद्धमा थिए । उनीहरू यो प्रतियोगिता गर्नुहुन्न, सार्नुपर्छ भन्ने पक्षमा थिए । तर, त्यसबेला राखेपको पहलमा विभिन्न राजनीतिक दलको दबाबमा मात्र छैटौँले मूर्तरूप पाएको थियो । आज छैटौँको सफल आयोजना इतिहासमा कोरिसकेको छ भने त्यसबेला निर्माणको योजनामा परेका भौतिक संरचनाहरूले निरन्तरता पाइरहेका छन् । जसलाई खेलकुदको सुखद र सफल पक्षको रूपमा गणना गरिएको छ ।
निकम्मा तर विदेश र पैसा भनेपछि मरिहत्ते गर्ने मन्त्रालयका कर्मचारीको चरित्रले गर्दा …लाईभन्दा देख्नेलाई लाज भएको छ । सुनिन आएअनुसार अहिले जुन खेलका खेलाडीको बिदाइ कार्यक्रम हुनासाथ मन्त्रालयले राखेपमा हाम्रो ‘कोटा’ खै भनेर माग्ने गरेको सूत्रले बताएको छ । उनीहरूले मन्त्रालयलाई छुटाउने भन्दै धम्कीको भाषासमेत प्रयोग गर्ने, त्यसो हँुदैन भन्दा अनेक प्रकारले दु:ख दिने गरेको बुझिएको छ । एक खेलकुदकर्मीले भने, ‘मन्त्रालयका कर्मचारीले त खेलकुदलाई विदेश घुम्ने ठाउँ सम्झिएका रहेछन्, उनीहरूको यो भ्रम कसरी तोड्ने हो, निकै गाह्रो भइरहेको छ ।’ तसर्थ मन्त्रालयका कर्मचारी आफ्नो जिम्मेवारीबाट पन्छिएर लोभी–पापीको भूमिकामा देखापर्नु खेलकुदका लागि दुर्भाग्य भएको छ । जुन खेलकुदको विकासका लागि वर्तमान र भविष्यमा रोडा बन्ने सोझै अड्कल काट्न सकिन्छ ।

राष्ट्रपतिद्वारा विजेतालाई रनिङ सिल्ड प्रदान
राष्ट्रपति डा. रामवरण यादवले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमलाई शीतलनिवासमा पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति यादवले विजयी टिमलाई रनिङ सिल्ड र ट्रफी प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पश्चिमाञ्चलले दुई सय २३ अङ्क जोड्दै च्याम्पियन बनेको थियो । एक सय ९९ अङ्कसहित मध्यमाञ्चल दोस्रो भयो भने तेस्रो हुने मध्यपश्चिमाञ्चलले एक सय ९२ अङ्क प्राप्त गरेको थियो । त्यस्तै, पूर्वाञ्चल एक सय २५ अङ्कसहित चौथो तथा सुदूरपश्चिमाञ्चल ७३ अङ्कका साथ पाँचौँ स्थानमा रहेको थियो । एथलेटिक्समा शीर्ष ६ तथा भलिबलमा शीर्ष चार स्थानसम्मलाई निश्चित अङ्क प्रदान गरिएको थियो । दुवै खेलको अङ्क जोडेर टिम च्याम्पियनको घोषणा गरिएको हो । शीर्ष तीन स्थानमा रहनेले क्रमश: २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जितेका थिए ।

क्रिकेट टोली नगद पुरस्कारबाट सम्मानित
बर्मुडामा गत अप्रिलमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन– ३ च्याम्पियन नेपाली क्रिकेट टोलीलाई हालै नगद पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन लाख ५० हजारका दरले नेपाल सरकारसमक्ष सिफारिस गरेको नगद पुरस्कार १५ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्ट गरी १८ जनालाई प्रदान गरिएको हो । २५ प्रतिशत कर काटेर प्रत्येकले दुई लाख ६२ हजार पाँच सय नगद प्राप्त गरे । कमलपोखरीस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, सदस्यसचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । पुरस्कृत खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवासप्रसाद खकुरेल, अनीलकुमार मण्डल, पृथु बास्कोटा, प्रदीप ऐरी, विनोद भण्डारी, वसन्त रेग्मी, शरद भेषवाकर, शक्तिप्रसाद गौचन, चन्द्र साउद, अमृत भट्टराई, सञ्जम रेग्मी, राहुलकुमार विश्वकर्मा तथा नरेशबहादुर बुढा ऐर रहेका छन् । प्रशिक्षकमा पुबुदु बाथिया दासानायके, व्यवस्थापकमा तारिणीविक्रम शाह तथा फिजियोथेरापिस्टमा सुब्रमनियम भिक्रासामी छन् ।

विश्व पारा तेक्वान्दोमा यादवलाई कास्य
पहिलो सहभागितामै नेपाली खेलाडी यादव कुँवरले चौथो (डब्लूटीएफ) विश्व पारा तेक्वान्दो प्रतियोगितामा कास्य जितेका छन् । पहिलो खेलमा यादवले ब्राजिलका अल्मेडा फ्लेवियोलाई ५–३ ले पराजित गरी कास्य पक्का गरेका थिए । अर्को खेलमा रसियाका इसाडिविरोभ मागोनेजागिरसँग यादव ५–११ ले चुकेपछि कास्यमा सीमित भएका थिए । प्रतियोगितामा यादवको प्रशिक्षकको भूमिका जनार्जन केसीले निर्वाह गरेका थिए । स्विट्जरल्यान्डको लौसानमा भएको उक्त प्रतियोगितामा नेपालले पारा तेक्वान्दोमा सहभागिता जनाएको यो पहिलोपटक हो ।

एसियाली साम्बोमा रञ्जुलाई रजत
उज्वेकिस्तानको तास्केन्दमा भएको खुला एसियाली साम्बो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जु राईले रजत जितेकी छिन् । महिलाको स्पोर्टस् स्पर्धाको ६० केजीमुनि रञ्जुले रजत जितेको नेपाल साम्बो फेडेरेसनका सचिव उत्तम श्रेष्ठले जनाएका छन् । रञ्जु आयोजक राष्ट्रकी खेलाडीलाई पराजित गरी फाइनलमा पुगेकी थिइन् । फाइनल नतिजा भने रञ्जुले कजाकिस्तानकी खेलाडीलाई सुम्पेकी थिइन् । प्रतियोगितामा रञ्जुसहित पुरुष कम्ब्याटको ६२ केजीमुनि गोपाल पुनमगरलेप्रतिस्पर्धा गरेका थिए । उनी पदकविहीन रहे ।