प्रतिनिधिसभामा विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरेका छन् ।
सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलाई ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिइन् । सो आयोजनाको शेयरमा आवेदन दिने प्रक्रियालाई सरल बनाउन र लागतबारे अनुगमन गर्न उनको माग थियो ।
सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गरे भने सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३÷१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान आकृष्ट गरे ।
सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन बसेका गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिँदै माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाए ।
यस्तै, सांसद विमलप्रसाद श्रीवास्तवले मुआब्जा दिएर मात्र विकास निर्माणका काम शुुरु गर्न सुझाव दिए भने सांसद प्रकाश रसाइलीले बर्खामा पानीले सडक जलमग्न भएकोप्रति सदनको ध्यानाकर्षण गराए
सांसद भूमिप्रसाद त्रिपाठीले सडकमा जताततै बिग्रिएका सवारीसाधन राख्ने प्रवृत्ति देखापरेको औंल्याउँदै कति वर्ष पुराना सवारी चलाउन पाउने हो त्यसबारे प्रष्ट नीति ल्याउन माग गरे ।
राससका अनुसार बोल्ने क्रम सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले शून्य समय र विशेष समयमा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन आफूले सम्बन्धित मन्त्रालयलाई जानकारी दिने प्रतिवद्धता सांसदहरुसमक्ष व्यक्त गरेका थिए ।
प्रतिक्रिया