नेपाली भाषा, बनाए खासा श्री भानुभक्तले
धन्य भो हाम्रो नेपाल देश कविको जन्मले
स्वच्छन्दवादी श्री देवकोटा र सिद्धिचरण
प्रकृतिबीच रमाए धर्ती छोएर चरण ।।१।।
पूर्वको किल्ला, पहाडी जिल्ला, ओखलढुङ्गामा
जन्मिए कवि सत्तरीअघि किसानी कुलमा
पाएनन् पढ्न अगाडि बढ्न गरिब हुनाले
सहिद पर्व ब्युँझियो भित्र चेतना छुनाले ।।२।।
‘भैंचालो’ लेखे त्यही नब्बेतिर गोरखापत्रमा
‘उर्वशी’ आइन् स्वर्गकी तारा बनेर सत्रमा
‘कोपिला’ तथा ‘स्वप्रतिबिम्ब’ दुइटा कृतिले
एक्काइसतिर ल्याएथे छापी सङ्ग्रह कविले ।।३।।
‘तिर्मिरे तारा’, ’कुहिरो र घाम’, ‘सिद्धिका कविता’
पैंतालीसतिर आएका थिए राम्रा र छरिता
छयालीसतिर ‘बाँचेको आवाज’ बाहिर ल्याएथे
असङ्ख्य कृति रचेर फेरि हामीलाई दिएथे ।।४।।
‘मङ्गलमान’, ’बालिको वध’, ‘जुनकिरी’ र ‘आँसु’
‘भीमसेन थापा’, ‘शवरी’, ‘शैल’ रहेछन् जिज्ञासु
मानववादी भएर लेखे त्यो ‘आत्म विलौना’
फुटकर धेरै कविता लेखे गद्य र पद्यमा ।।५।।
जेलमा परे सङ्घर्ष गर्दा राणाका विरुद्ध
‘वर्षा’ भो पैलो विद्रोह बोल्ने स्वाधीन निमित्त
सर्वस्व भई अठ्ठार वर्ष ठेकिए कैदमा
जेलमा पाए अनेकखाले कठोर यातना ।।६।।
चौध र बाइस अटुट भए प्रज्ञाको सदस्य
त्रिशक्तिपट्ट, गोदबा पाई भएथे भूषित
अठ्ठाइस–छत्तीस सम्पादक भए कवितातिर नै
आवाज दैनिक चलाए पैलो सम्पादक बनेरै ।।७।।
सत्ताइसतिर पाएथे ठूलो त्रिभुवन पुरस्कार
रत्नश्री तथा श्री वेदनिधि सम्मान बराबर
शारदा तथा गो.प. मा पनि भएर संलग्न
रुस र चीन, पुगेथे नर्वे, भारत, फिनल्यान्ड ।।८।।
मिश्री भैंm लाग्ने घरमा थिइन् ती मिश्रीदेवी रे !
जन्मिए छोरा र छोरी पनि पौरखी भए रे !
मुटुको रोग, प्रश्वास–श्वास बढेर लग्यो रे !
उनन्चास सालको महिना जेठ नराम्रो थियो रे !।।९।।
सम्झन्छु जेठको नौ गते लाग्दा सिद्धिको जयन्ती
मनले गुन्छु, पे्ररणा लिन्छु, भावना अनगिन्ती
आसिक दिऊन् कविजी ! हामी नेपाली मात्रलाई
छहारीभित्र बसेर राम्रा कविता लेख्नलाई ।।१०।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।
प्रतिक्रिया