वीरगञ्जका आधादर्जन वडा डुबानमा, कृषक भने हर्षित

वीरगञ्जका आधादर्जन वडा डुबानमा, कृषक भने हर्षित


दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नालीबाहिरै रुमल्लिँदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर÷घरमा पसेर समस्या भोग्नुपरेको गुनासो उनले गरे ।

सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए । उनले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने दाबी गरे ।

यसरी नगरक्षेत्र डुबानमा परे पनि पानीको अभावमा धानको रोपाइँ २ प्रतिशत मात्र भएको पर्सामा दुई दिनदेखि परेको आकासेपानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि किसान भने हर्षित भएका राससले जनाएको छ ।