गंगामाया भेटेपछि पौडेलले भन्नुभयो- ‘रातो झण्डा ओढेर सबै खत माफ हुँदा अराजकता बढ्यो’

गंगामाया भेटेपछि पौडेलले भन्नुभयो- ‘रातो झण्डा ओढेर सबै खत माफ हुँदा अराजकता बढ्यो’


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएकको छ । गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६औं दिनमा आइपुग्दा थप बिग्रिएको हो । मंगलबार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुग्नुभएका वरिष्ठ नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ ।

पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३६औं दिन भइसकेको पछिल्लो दुई दिनयता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।

अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता वरिष्ठ नेता पौडेलको भनाई थियो ।
उहाँले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डा ओढेर सबै अपराध माफ हुने अराजकता बढेको बताउनुभयो । उहाँले अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको टिप्पणी गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘रातो झण्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ । छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’

वरिष्ठ नेता पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने जुन परम्परा स्थापित हुन थालेको छ, यो अत्यन्तै दुःखद र निरंकुशतावादी मनोवृत्तितिर शासन सत्ता अगाडि बढेको देखिन थालेको बताउनुभयो ।

२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् ।

अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसेन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरूले अपहरणपछि हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४औं दिनमा ०७१ असोज ६ गते निधन भएको थियो ।