स्कुल जाँदै गरेकी छात्राको रूखले च्यापेर मृत्यु

स्कुल जाँदै गरेकी छात्राको रूखले च्यापेर मृत्यु


व्यास नगरपालिका– ६ पातलटारमा आज मंगलबार सालको रूख ढलेर च्यापिँदा एक स्कुले बालिकाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै अन्य दुई छोरी १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् ।

उनीहरूलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रूख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।

सिसाघाटस्थित न्यु कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रूख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताए ।
वर्षाका कारण जसमन गलेकाले रूख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।

खोलाले बगाउँदा एकको मृत्यु एक बेपत्ता
यसैगरी, शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दी खोलाले सोमबार साँझ बगाउँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा शुक्लागण्डकी– ११ का ५१ वर्षीय नीलबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए । खोलाले बगाएर गम्भीर घाइते भएका गुरुङलाई फूलबारी अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । बेपत्ता हुनेमा भिमाद नपा– ८ का ५७ वर्षीय यमबहादुर कुमाल रहेको जानकारी प्रहरी निरीक्षक विकले दिए ।

बढेर आएको उक्त खोला तर्ने क्रममा दुवैलाई बगाएको थियो । गुरुङको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र बेपत्ता भएका कुमालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।