कीर्ते गर्ने, बिचौलिया र बलात्कारी प्रहरी नियन्त्रणमा

कीर्ते गर्ने, बिचौलिया र बलात्कारी प्रहरी नियन्त्रणमा


विदेशबाट जारी भएको सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा कीर्ते कागजात पेश गरी सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने तीनजना र उक्त कार्यमा बिचौलियाको भूमिका निर्वाह गर्ने चारसहित सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सवारीचालक अनुपतिपत्र बनाउन दिने काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३३ वर्षीय आङकुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने ३० वर्षीय अमित पुर्पेटी, काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ४६ वर्षीय लछु लामा तथा सवारीचालक अनुमतिपत्र बनाउन सहयोग गर्नेहरु काठमाडौं महानगरपालिका ८ जोरपाटी बस्ने ६१ वर्षीय श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ बस्ने २४ वर्षीय नोर्बु लामा, काभ्रे ईन्द्रावती गाउँपालिका बस्ने सिन्धुपाल्चोक सिम्पालका ४१ वर्षीय जर्सिङ तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका ४ सितापाईला बस्ने ५२ वर्षीय रामचन्द्र गौतम रहेका प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई सोमबार र आइतबार महाराजगञ्ज, जोरपाटी तथा चावहिलबाट पक्राउ गरेको हो । उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच जबर्जस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका ४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जबर्जस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।