कांग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुन्छ : नेता सिटौला

कांग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुन्छ : नेता सिटौला


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुने बताएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र स्थापना, गिरिजाप्रसाद कोइरालाको नेतृत्व र युवा विद्यार्थीको भूमिका’ बिषयक कार्यक्रममा उनले भने, ‘संसदीय व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउनका लागि संसद्मा काँग्रेस बलियो प्रतिपक्षका रुपमा उभिनुपर्दछ ।’

नेता सिटौलाले भने, ‘काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था नै कमजोर हुन्छ, संसदीय व्यवस्थालाई बलियो बनाउन काँग्रेस सशक्त हुनुपर्छ ।’

संसदीय समितिको लोभमा काँग्रेस लत्रिन नहुने भन्दै उनले संसदीय व्यवस्था बलियो बनाउने जिम्मा काँग्रेसको भएको बताए ।

नेता सिटौलाले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था संविधानले नै गरेको भन्दै सो विषयमा समेत काँग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

गिरिजाबाबुले शेरबहादुर देउवालाई पार्टीको २ नंको वरियतामा राखेका कारण अहिले उनी सभापति बनेको पनि उनले बताए ।

काँग्रेस नेता गगनकुमार थापाले भने, ‘गिरिजाबाबु राजनीतिज्ञ मात्रै होइनन्, नेपाली राजनीति क्षेत्रका होलसेलर नै हुन्, राजा चाहने र गणतन्त्र चाहने सबैलाई एउटै खुत्रुक्केमा अटाएर राजालाई ठेगान लाउँदै उनले मुलुकमा गणतन्त्र ल्याए ।’

काँग्रेस नेता प्रदीप पौडेलले कतिपय काँग्रेसी नेतालाई अझै पनि सत्तामा नै छु भन्ने भान भइरहेको बताउँदै प्रतिपक्षी भूमिकामा काँग्रेस कमजोर बन्दा सत्ताको मोह नहटेको महसुश भइरहेको छ भने ।

सांसद भीमसेनदास प्रधान,धना खतिवडा, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले काँग्रेसलाई बलियो बनाउन जनताको मन जित्ने नेतृत्वको खोजी हुनुपर्नेमा जोड दिए । राससका अनुसार नेविसंघ प्रदेश ३ का संयोजक रामप्रसाद अधिकारीले बलियो काँग्रेस निर्माणका लागि नेविसंघ प्रदेशले विभिन्न समयमा रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए ।