विद्युतीय पोल सार्दा एकै गाउँका ४ जनाको मृत्यु

विद्युतीय पोल सार्दा एकै गाउँका ४ जनाको मृत्यु


विद्युतीय पोल सार्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । डोटीस्थित डोटी आदर्श गाउँपालिका–१ चाँसीमा एक मिल नजिकैको पोल सार्ने क्रममा विद्युतीय तारलाई छुदाँ एकै वडाका ४ जनाको मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा डोटी आदर्श गाउँपालिका–१ चाँसीका २४ बर्षिय लोकेन्द्र खड्का, २३ बर्षिय दिपे खड्का, बिरेन्द खड्का र ३२ बर्षिय जयबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी लालबहादर धामीले जानकारी दिए ।

उनका अनुसार घटनामा सोही वडाका २४ बर्षिय नारायण बहादुर खड्का घाइते भएका छन् । स्थानीयका अनुसार पोल बाङ्गिएको र उक्त पोल सार्ने क्रममा घटना घटेको हो । झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

कुनैपनि विद्युतीय पोल सार्ने अधिकार नेपाल विद्युत प्राधिकरण वा प्राधिकरणले जिम्मेवारी दिएका निकायलाई मात्रै हुनेछ । तर यसरी अन्धाधुन्ध रुपमा विद्युतजस्तो संवेदनशील क्षेत्रमा नागरिकहरुले आफूखुशी काम गर्नु प्राधिकरणको दोष रहेको केही स्थानीहरु बताउँछन् । अहिले सो गाउँपालिकाका स्थानीयहरुले प्राधिकरणको कार्यालय घेराउ गर्ने तयारी गरिरहेको बुझिएको छ ।

यता, जिल्लास्थित प्राधिकरणको कार्यालयले भने स्थानीयहरुले पोल सार्नका लागि अनुमति नलिएको र आफूखुशी पोल सार्न नपाइने बताएको छ । कार्यालयले कुनैपनि विद्युतीय संरचनाको ठाउँसारी गर्दा निवेदन दिनुपर्ने भएपनि स्थानीहरुले कार्यालयमा जानकारी नगराएको दावी गरेको छ ।