नौतलेको पुनर्निर्माणका लागि छाउनीमा काठमा बुट्टा कुँद्ने कार्य तीव्र

नौतलेको पुनर्निर्माणका लागि छाउनीमा काठमा बुट्टा कुँद्ने कार्य तीव्र


विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ ।

पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुँद्ने काम त्यहाँ भइरहेको छ ।

०७२ वैशाख १२ मा आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो दरबारमा ठूलो क्षति भई जोखिममा परेपछि उक्त सम्पदा जीर्णोद्धारका क्रममा रहेको छ ।

चीन सरकारको सहयोगमा करिब ६ महिनादेखि विज्ञहरूको समूहले पुराना काष्ठकलाको अध्ययन तथा अनुसन्धान गर्दै बुट्टाको संग्रह गरिएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

आधुनिक नेपाल एकीकरण हुनुभन्दा अगाडि विशिष्ट कला र सीपले निर्माण गरिएको उक्त सम्पदाको विभिन्न भागमा चिरा परेर भत्किने स्थितिमा पुगेको थियो ।

पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायतले शुरु गरेको जीर्णोद्धारमा त्यस सम्पदाको प्राचीन स्वरूपमा परिवर्तन नहुने गरी केही अत्याधुनिक निर्माण वस्तुको समेत प्रयोग गरिने भएको छ ।

उक्त सम्पदाका काठका सम्पूर्ण सामग्री तथा त्यसका स–साना टुक्रालाई समेत पुरातात्विक महत्वको सामग्रीका रूपमा विकास गर्नका लागि संग्रहालयभित्र रहेको त्यस क्षेत्रलाई विशेष संरक्षण तथा सुरक्षित गरिएको छ ।

उक्त स्थानबाट निर्माण हुने नयाँ काष्ठकलाका संरचनालाई पछि दरबारमा प्रयोग गरिनेछ भने पुराना काठका टुक्रालाई पुरातात्विक महत्वको सामग्रीका रूपमा प्रदर्शनमा राखिनेछ ।