उपत्यकाका १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

उपत्यकाका १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था


ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौं, भक्तपुर र ललितपुरमा अस्थायी रूपमा सवारी पार्किङको व्यवस्था मिलाइएको बताए । ‘बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउनेलगायतका कामलाई प्राथमिकता दिएका छौँ,’ उनले भने ।

महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्यांकीअगाडि, कोटेश्वर ट्राफिकअगाडि, विभिन्न अस्पतालअगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि ०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताउँछन् ।

‘शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो, अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ।’ गौतम भन्छन् ।

यातायात व्यवस्था विभागले दिएको तथ्यांकअनुसार हाल काठमाडौं उपत्यकामा झन्डै ११ हजार ट्याक्सी रहेका छन् । यस्तै, महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थान छुट्याएको छ ।

दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्ममकन्या क्याम्पसछेउ, २९ वडा कार्यालयअगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोतअगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीन रूपमा पार्किङ व्यवस्थापन गरिएको बताउँछन् ।

‘तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रूपका लागि नगरसभामार्फत बनेका कानुनको आधारमा अगाडि बढ्छौँ,’ उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीसाधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउँछन् ।
हाल उपत्यकामा मात्र २९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतीक्षालयको समेत अध्ययन गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकाका ३६ स्थानमा प्रतीक्षालय रहेका छन् । महाशाखाले गरेको अध्ययनअनुसार उपत्यकामा १०३ स्थानमा यात्रु प्रतीक्षालय आवश्यक रहेको छ ।

महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउन महाशाखाले पार्किङ स्थल, प्रतीक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको बताउँछन् । केही दिनअघि मात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्रलाई कान्तिपथलाई सोह्रखुट्टे सारेको थियो ।

हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारीसाधन रहेका छन् भने काठमाडौं उपत्यकामा मात्र झन्डै ११ लाख सवारीसाधन आवतजावत गर्छन् । ठूला सवारीसाधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

अच्युत रेग्मी (रासस)