बादल फाटेपछि जुफाल विमानस्थल सुचारु

बादल फाटेपछि जुफाल विमानस्थल सुचारु


चार दिनदेखिको अविरल वर्षाका कारण अवरुद्ध हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल आज बुधबारदेखि सञ्चालनमा आएको छ ।

वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगन्ज–डोल्पाको हवाईमार्गमा बादल फाटेर आकाश खुलेपछि विमानस्थल सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।

आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बढ्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिए ।

लगातार वर्षाका कारण दैनिक हवाई उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको उनले बताए ।

जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगमलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् ।
डोल्पा सदरमुकाम दुनै अझै पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्लाबाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत् छ ।