कांग्रेस सांसदको समूह जुम्ला र वीर अस्पतालमा परिचालन

कांग्रेस सांसदको समूह जुम्ला र वीर अस्पतालमा परिचालन


नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ । केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै गम्भीर बन्दै गएको उनको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधिसभाका सांसदद्वय प्रकाश स्नेही र रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरिएको हो ।

जुम्ला जाने कांग्रेस सांसदको समूहले उनको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने दलका प्रमुख सचेतक बालकृष्ण खाणलाई उद्धृत गर्दै राससले जनाएको छ ।

संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले डा. केसीको माग अनुसार यसअघि सरकारले गरेको सम्झौताका आधारमा चिकित्सा विधेयक तयार पार्न पनि माग गरेको छ ।

यसैगरी कांग्रेसले एक महिनादेखि आमरण अनशनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाका बारेमा बुझ्न प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह, पार्वता डिसी चौधरी र वेद तिमल्सिनालाई खटाउने निर्णय गरेको छ ।

तेह्र वर्षअघि छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनी एक महिनादेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् । सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सांसदको उपस्थिति थियो ।

सरकारले निश्चित स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने गरी धेरै ठाउँमा निषेधाज्ञा जारी गरेकामा पनि बैठकले त्यसलाई खारेज गर्न माग गरेको छ ।

पछिल्लो समय जनताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिको विरोध गर्दै कांग्रेसले नियमन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।