संसदमा काङ्ग्रेस नेता अमरेशको गर्जन- ‘लोकतन्त्र खोई ?’

संसदमा काङ्ग्रेस नेता अमरेशको गर्जन- ‘लोकतन्त्र खोई ?’


संघीय संसद प्रतिनिधिसभाको शुन्य समयमा आज बुधबार काङ्ग्रेस सांसदहरूले सरकारका पछिल्ला गतिविधिको चर्को विरोध गर्दै आवश्यक जवाफ माग गरेका छन् । उनीहरूले कम्युनिष्ट सरकारले लोकतन्त्रको खिल्ली उडाएको, लोकतन्त्रको नाममा मानवअधिकार हनन गरेको आरोप लगाउँदै लोकतन्त्र कहाँ छ भनी प्रश्न तेर्साए ।

काङ्ग्रेस सांसद तथा प्रखर नेता अमरेशकुमार सिंहले अनसनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीका विषयमा सरकार गैरजिम्मेवार भएको भन्दै मुलुकमा ‘हिटलरी शासन’ शुरु हुन लागेको आरोप लगाए । उनले पछिल्लो पटक ३५ दिनभन्दा बढि अनसनमा रहेकी गंगामाया अधिकारीप्रति सरकार संवेदनहीन भएको भन्दै मानवअधिकारको प्रश्न पनि उठाए । ‘हामी लोकतन्त्रको पक्षमा छौँ, जनताले आफ्नो मत राख्न पाउँछन्’, उनले भने– ‘सरकार आन्दोलनबाट आएको होकि जनमतबाट ?’ गोली पड्काउने, अभिब्यक्ति स्वतन्त्रता खोस्ने यो सरकार लोकतान्त्रिक हुनै नसक्ने उनले जिकीर गरे । कम्युनिष्ट सरकारका गृहमन्त्रीले माइतीघरमा जुलुस निकाल्न नपाउने नियम बनाई अभिब्यक्ति स्वतन्त्रता र शान्तिपुर्ण विरोध प्रदर्शन गर्न रोक लगाएर लोकतन्त्र समाप्त पार्न खोजेको आरोप लगाए ।

‘गृहमन्त्रीज्यू, लोकतन्त्र समाप्त भएको छ कि के भएको छ ? जवाफ चाहियो’ काङ्ग्रेस नेता सिंहले भने, ‘गोविन्द केसी र गंगामाया अधिकारीको माग सुनुवाई गर्नु पर्दैन ? राज्यको ढुकुटीबाट खर्च गरेर शासन चलाउने, राज्यको पैसा नलिनेलाई थुन्ने, डा. केसीको मागप्रति संवेदनशीलता खोई ?’ अनशन बसेकी गंगामाया अधिकारीले न्याय नपाउने, उनले आफ्नो छोराको हत्यारालाई कारवाही होस् भन्न नपाउने, के उनलाई न्याय दिनुपर्दैन ? यो कहाँको मानव अधिकार हो भन्दै सांसद सिंहले दोर्याएर प्रश्न गरे ।

‘यो सरकार लोकतन्त्र समाप्त गरेर हिटलरको बाटोमा जान खोजेको हो वा स्टालिन या माओको बाटोमा ?’ भन्दै उनले आक्रोश ब्यक्त गरे । उनले चेतावनीपूर्ण शैलीमा थपे– ‘पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रोष्ट्रमबाट लोकतन्त्रको रक्षाको लागि गुहार माग्नुभएको छ, उता पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको रक्षाको लागि गुहार लगाइरहनुभएको छ, सरकारलाई शोषक र सामन्त सरकार भन्नुभएको छ, अस्ति भर्खर मात्र एक ब्यापारी एउटा कार्यक्रममा गएर दुई कम्युनिष्ट पार्टीलाई मैले मिलाइदिएपछि एकीकृत भएका हुन् भन्दै हिँडेका छन्, त्यही ब्यापारीले त सरकार चलाएको होइन ? यदि यस्तै अवस्था रहे लोकतन्त्र रक्षाका लागि संसद घेराउ गर्नेदेखि यही संसदमा अनसन गर्ने दिन नआओस् ।’

काङ्ग्रेस नेता तथा सांसद सिंहले सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्ने संवैधानिक प्रावधानलाई धज्जी उडाइएको, संविधानको पालना नगरिएकोले सरकार र सभामुखको नैतिक प्रश्न जोडिएकोप्रति जवाफ माग गरे ।

यसैक्रममा आजै नेता तथा सांसद अमरेशकुमार सिंहसहितका सातजना सांसद अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका थिए । काङ्ग्रेस संसदीय दलको बैठकले गरेको निर्णयअनुसार तीनजना सांसद डा. गोविन्द केसीको स्वास्थ्यावस्था बुझ्न जुम्ला र सातजना सांसद गंगमायाको अवस्था बुझ्न वीर अस्पताल गएका हुन् ।

३५ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाबारे बुझ्न सांसद सिंह, पार्वती डिसी चौधरी, वेद तिमल्सिना, नमिता चौधरी, विमला नेपाली, लक्ष्मी परियार र प्रमिला राई वीर अस्पताल पुगेका हुन् । गंगामायाको अनशन बसेको कक्षमा पुगी अस्पतालका निर्देशकसँग स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएको सांसद सिंहले जानकारी गराए । यहि विषयलाई लिएर सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको शून्य समयमा डा. गोविन्द केसी र गंगामायाको जीवन रक्षाको लागि सदनमै अनशन बस्न तयार रहेको चेतावनी दिएका थिए ।