नुवाकोटमा झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

नुवाकोटमा झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु


झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा नुवाकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका– ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो ।

सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिस्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

बुधबार दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी–झाँक्री लगाएका थिए । धामी–झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु गएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

गर्भवती अवस्थामा पनि उनी स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि नआएको र अहिले मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको अहेव श्रेष्ठको भनाइ छ ।

उनको घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पु¥याएको भए सुत्केरीको ज्यान बचाउन सकिने अहेव श्रेष्ठ बताउँछन् । उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले बताए ।