‘दम्भ र घमण्ड नपालौँ, मुठभेडको राजनीति अन्त्य गरौँ ‘

‘दम्भ र घमण्ड नपालौँ, मुठभेडको राजनीति अन्त्य गरौँ ‘


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै समय माग गरेर नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले वर्तमान सरकारको गतिविधि र कामकारवाही प्रमुख प्रतिपक्ष दलसँग राजनीतिक मुठभेडतर्फ अग्रसर भएको देखिएको बताए ।

सरकारका यस्ताखाले गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताउँदै उनले तत्कालीन देउवा सरकारले विधिको शासन र कानूनी राज्यको अवधारणाभित्रै रहेर नियुक्तिसम्बन्धी निर्णय गरेकाले राजनीतिक प्रतिशोधका हिसाबले उल्ट्याउने काम नगर्न आग्रह गरे ।

सांसद देवले भने, ‘पुष्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नुस्, लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मूठभेडले कसैलाई फाइदा गर्दैन । दम्भ र घमण्ड नपालौँ, नराखौँ, मुठभेडको राजनीति अन्त्य गरौँ ।’