तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएसँगै यसका नेता एकता मजबुत पार्न जुटिरहेका छन् र युवा नेताहरू एकताबाट निकै उत्साहित देखिएका पनि छन् । तर, केही वृद्ध नेता भने पार्टी एक भएपछिको खुसीमा सामेल हुन सकिरहेका छैनन् । उनीहरू एकताले आफूमाथि अपमान गरेको महसुस गरिरहेका छन् ।
दुई कम्युनिस्ट पार्टी एक भएर पनि त्यो खुसीमा सहभागी हुन नसक्नेमध्येका एक नेता हुन्, अमृतकुमार बोहरा । पार्टी र आन्दोलनमा लामो समय सक्रिय बोहरा नवगठित पार्टीले दिएको जिम्मेवारीबाट असन्तुष्ट र आक्रोशित बनेका छन् । आफूलाई अपमान गरेर कर्नरमा पारिएको गुनासो बोहराको छ । सार्वजनिक रूपमा नै पदीय भागबन्डामाथि आपत्ति जनाएका बोहराले पार्टी एकतामा हस्ताक्षरसमेत गरेका छैनन् ।
तत्कालीन एमालेका बोहराजस्तै माओवादी केन्द्रका अमिक शेरचन पनि एकतापछि पार्टीले गरेको जिम्मेवारीबाट असन्तुष्ट छन् । आमन्त्रित सदस्यका रूपमा मात्रै राखिएपछि शेरचन यतिबेला नवगठित पार्टीको कुनै पनि भूमिकामा छैनन् । बोहराले जस्तै पार्टी एकतामा हस्ताक्षर नगरेका शेरचनले एकतापछि अपनाइएका प्रक्रियामा आफ्नो असहमति रहेको बताउने गरेका छन् ।
तत्कालीन एमाले–माओवादीबीच एकता हुनुपर्ने मत शुरुदेखि नै राख्दै आएका वयोवृद्ध नेता भरतमोहन अधिकारी त्यसले मूर्तरूप पाउँदासमेत खुसी छैनन् । नयाँ पार्टीले कुनै पनि सोधीखोजी नगरेको भन्दै उनले आफूनिकटसँग दुखेसो पोख्ने गरेका छन् ।
त्यसो त प्रचण्डको क्षेत्रबाट चुनाव लडेर पराजित हितमान शाक्य पनि प्रचण्डसँग रिसाएका छन् । प्रचण्डले जिम्मेवारी दिन मन खुम्च्याएको भन्दै उनले प्रचण्डको फोनसमेत उठाउन छाडेको बताइन्छ । शाक्य यही असन्तुष्टिका कारण विद्यार्थी एकता गर्न दुई पार्टीका विद्यार्थी सङ्गठनले डाकेको बैठकमा समेत अनुपस्थित भएका थिए । अखिल क्रान्तिकारीको फ्र्याक्सन इन्चार्ज रहेका शाक्य अनुपस्थित भएपछि उनको विकल्पमा अर्को व्यक्ति पठाउन विद्यार्थीले निर्णय गरेको बुझिएको छ ।
प्रतिक्रिया