विकास र समृद्धिको अस्त्र शिक्षा : उपप्रधानमन्त्री यादव

विकास र समृद्धिको अस्त्र शिक्षा : उपप्रधानमन्त्री यादव


हेमशंकर सिंह

राजविराज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शिक्षा विकास र समृद्धिको मुल अस्त्र भएकोले शिक्षालाई मर्यादित बनाउनु पर्ने बताएका छन् । सप्तरीको रावविराजमा शुक्रबार सङ्घीय शिक्षक फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् ।

शिक्षा शक्ति र शिक्षक त्यसको साधन भएको बताउँदै उपप्रधानमन्त्री यादवले शिक्षण पेशालाई मर्यादित बनाउने अभिारा शिक्षकहरुको हातमा रहेकाले सेवाको भावाना राखी असल शिक्षा दिन आग्रह गरे ।

शिक्षा क्षेत्रमा दिनप्रतिदिन विकृति फैलिँदै जाँदा विद्यार्थी कमजोर हुने गरेको भन्दै उनले भने, शिक्षा विकास र समृद्धिको अस्त्र हो त्यसैले शिक्षालाई मर्यादित बनाउन शिक्षकहरु लाग्नुपर्छ ।

फोरम नेपालका उपाध्यक्ष एवम पूर्वशिक्षा मन्त्री रेणु यादवले छोरीलाई दाइजोभन्दा उच्च शिक्षा दिनुपर्नेमा जोड दिइन् । छोरीलाई पढाउनु हुँदैन भन्ने परम्परागत सोचका कारण महिलाहरु शिक्षामा पछि परेको उनको भनाई थियो ।

प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले आधुनिकतासँगै विद्यार्थीको चाहना र भावनाबमोजिम नयाँ प्रविधिको माध्यम अपनाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई उपप्रधानमन्त्री यादवले दोसल्ला ओढाएर सम्मान समेत गरे ।

यसैगरी हिजै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सप्तरी सदरमुकाम राजविरास्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको वस्तु स्थितिबारे जानकारी लिएका छन् । त्यसैगरी उनी निर्वाचित सप्तरीको संसदीय क्षेत्र न.२ को तोपामा आयुर्वेदिक स्वास्थ्य शिविरको समेत उद्घाटन गरेका थिए । यादवमन्त्री बनेपछि पहिलो पटक सप्तरी आएका हुन् ।