उन्नाइसौँ वर्ष उक्लँदै गर्दा…

उन्नाइसौँ वर्ष उक्लँदै गर्दा…


sampadakeeyaसमयअगावै छिप्पिएको मनसुनले मुलुकका विभिन्न भागमा प्रलय निम्त्याएका खबर सुनिँदै छन् । देशको सुध्रन नसकेको अन्योलग्रस्त राजनीतिक अवस्थाका कारण दैनन्दिन भोग्नुपरेका असहज परिस्थिति र अनेकौँ दु:ख–पीडामाथि बाढी र पहिरोको प्रहारले मुलुकका विभिन्न भूभागका सर्वसाधारण नेपालीलाई हिरिक्कै तुल्याएको छ । सीमित राजनीतिक दलहरूको मुठ्ठीमा बन्धक बन्न पुगेको देश र तिनै दलहरूबाट निर्देशित/नियन्त्रित निरीह सरकार आफ्नो दायित्व या दायरालाई फगत चुनावको रट लगाउने कर्ममै खुम्चिनु/खुम्च्याउनुपर्ने विवशताको शिकार बनेको छ । दलका सर्वेसर्वाहरू सत्ता र शक्तिको हिसाबकितावमै मग्न छन्, आफ्ना भावी दिनहरू शासकीय कसीमा कसरी सुनौलो तुल्याउने भन्ने कसरतमा तिनका समय गुज्रिरहेको अवस्था छ । सर्वसाधारण बाढीको चपेटामा परेका छन् कि पहिरोको लपेटामा बगेका या भोकमरी र अन्य यावत् दु:खकष्टको प्रहार झेलिरहेका छन्– नेतृत्व तहलाई के वास्ता ! बाटो छोडेको राजनीति ‘लिक’मा ल्याउने नाममा दशकका दशक अवधि फजुलमा गुजार्न शर्म नमान्ने तिनलाई यस्तै बेथिति जहिलेसम्म बल्झिरहे पनि के परवाह ?! सहमति बनाउने नाममा विमतिको बिज रोप्दै मुलुकलाई छिन्नभिन्न र रुग्ण तुल्याउन अप्ठ्यारो नमान्नेहरूलाई आमतप्काको कथा–व्यथासँग के सरोकार !?
हो, चुनावी प्रयोजनले गठन भएको तीन महिना गुज्रन लाग्दा चुनावको तिथिमितिसम्मचाहिँ येनकेन टुङ्गो लगाउन सक्षम भएको सरकार चुनावी आवश्यकताहरूको जोहो गर्न जुर्मुराएझैँ देखिन्छ । तर, मुलुकलाई बाध्यतापूर्ण तवरले चुनावी भेलमा जाक्नेहरू भने चुनावी माहोल सिर्जना गर्नुको साटो विमतिकै आगो फुक्न उद्यत् देखिँदैछन् । दिनहुँ सहमतिको वार्ता गर्ने, दिनैपिच्छे निर्णय र योजनाहरू बदल्ने प्रवृत्तिले कहाँ पुग्न सकिएला ? चुनावको असारे म्याद निर्लज्ज गुजारेका दलीय नेतृत्वका सन्देहास्पद चहलकदमीले त मङ्सिरको म्याद पनि त्यत्तिकै चिप्लने त होइन भन्ने आशङ्का अहिले नै जन्माइसकेको छ । फेरि पनि दलीय नेतृत्वहरू मानसिक विकारबाट मुक्त हुन नसकेको अवस्थामा देखिनु, राजनीतिक निकासका सवालमा झगडा गरे पनि विकासको विनाशमा एकमत हुनुजस्ता उदेकपूर्ण र विडम्बनायुक्त व्यवहारले मुलुकको भविष्यबारे अन्दाज लगाउन सकिन्छ ।
यस्तै–यस्तै परिवेशसँग पौँठेजोरी खेल्दै, देश तथा विश्वपरिवेशका घटना–परिघटनाका समाचार–विश्लेषणहरू सत्य, तथ्य र निष्पक्ष रूपमा आमपाठकबीच पस्किने सत्उद्देश्यका साथ प्रकाशन आरम्भ भएको घटना र विचार साप्ताहिक यसै सातादेखि प्रकाशनको अठारौँ वर्ष पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गरेको छ । झन्डै दुई दशकको यस अवधिभर अविच्छिन्न रूपमा विभिन्न तह–तप्काका पाठकवर्गसँग हातेमालो गर्ने सिलसिलामा घटना र विचारले अनेक उतारचढाव देखेको, भोगेको र अनुभूत गरेको छ । यस दुई दशक अवधिमा राजनीतिक हिसाबले देशभित्र निकै उथलपुथल र परिवर्तनहरू भएका छन् । प्रजातन्त्रको पुनरोउदय या तत्कालीन चलनचल्तीको भाषामा ‘शिशु प्रजातन्त्र’ले खुट्टा टेक्ने जमर्को गरिरहेको परिवेशसँगसँगै जन्म लिएको ‘घटना र विचार’को यात्रा पनि नेपाल राष्ट्रकै जस्तो उबडखाबड र सुख–दु:खयुक्त रहेको छ । जसरी मुलुक प्रजातन्त्र या लोकतन्त्र हुँदै गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि अझै विकास र समृद्धिको बाटो पहिल्याउन नसकी राजनीतिक दाउपेचकै शिकार बनिरहेको छ, यस साप्ताहिकको नियति पनि देशले भोगिरहेको दुश्चक्रको परिणतिभन्दा फरक छैन । फरक छ भने यत्तिचाहिँ फरक छ कि दुर्दशामा परेको मुलुकको दशा सुधार्ने जिम्मा लिएकाहरू अझै अन्योलकै भूमरीमा देशलाई रिङ्याइरहन उद्यत् देखिँदै छन्, घटना र विचारचाहिँ यस विकारपूर्ण राजनीतिका कारण सिर्जित विक्षिप्त परिवेश या दलदलबाट बाहिर निस्कने कसरतमा अनवरत क्रियाशील नै छ । अनेक प्रतिकूलताका बाबजुद आफ्ना असङ्ख्य पाठक महानुभावहरूलाई सुसूचित तुल्याउने दायित्वप्रति घटना र विचार साप्ताहिक हरदम सचेत र संवेदनशील नै छ र विश्व–परिवेशका परिवर्तित आयामहरूसँग तादात्म्यता राख्दै आफ्नो गौरवपूर्ण विगतको साख रक्षा गर्ने अनि आगामी दिनमा पनि सत्य, तथ्य र निश्पक्षपूर्ण सामग्रीका साथ आफ्ना पाठकसँग हातेमालो गरिरहने प्रण गर्दछ ।