चक्रवातको चपेटमा पर्ने त्रासले दश लाख भन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ लागे

चक्रवातको चपेटमा पर्ने त्रासले दश लाख भन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ लागे


भारतको पूर्वी तटमा दश लाख भन्दा बढी मानिसहरू प्राकृतिक विपत्तिबाट जोगिनका लागि सुरक्षित आश्रयस्थलतर्फ लागिरहेका बताइएको छ ।

दाना नामक चक्रवातले पश्चिम बङ्गाल र ओडिसा राज्यमा लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले जनाएको छ । मौसम ब्यूरोले हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतीमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ ।

शुक्रबार (२५ अक्टोबर) बिहान धामरा बन्दरगाहनजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ ।

चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान छ ।

ओडिसा राज्यका स्वास्थ्यमन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएका छन् ।

यस्तै, छिमेकी पश्चिमबङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । उनले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएका छन् ।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षाका कारण बिहीबार राति उडानहरू स्थगित गरिने जानकारी गराएका छन् । भुवनेश्वर शहरको विमानस्थलले पनि उक्त समयमा उडानहरु बन्द गर्ने जनाएको छ भने कयौँ रेलसेवाहरु स्थगित गरिएका छन् ।

बङ्गलादेशका विपद् मन्त्री फारुक-ए-आजमले उद्धार अधिकारीहरू ‘उच्च सतर्कता’का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार जीवाश्म ईन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् ।