आगामी आवबाट नेपालभर स्वास्थ्य बिमा कार्यक्रम

आगामी आवबाट नेपालभर स्वास्थ्य बिमा कार्यक्रम


उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७ जिल्लामै लागू हुने जानकारी दिए ।

जनशक्तिको व्यवस्थापनमा जोड दिँदै स्वास्थ्य उपकरण, औषधि तथा अन्य कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा योजनाबद्ध रूपमा कार्यक्रम शुरु गर्न लागेको बताउँदै यादवले स्वास्थ्य मन्त्रालयमातहत कर्मचारीको अभाव रहेकाले तत्काल जनशक्ति उपलब्ध गराइदिन लोकसेवा आयोगलाई आग्रह गरिएको जानकारी दिउ ।

यस्तै वर्षाकालमा हुने महामारी तथा रोगका जोखिम न्यूनीकरणका लागि सरकारले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको तथा केही स्वास्थ्य संस्थाको पुनर्निर्माण भइसकेको र केही निर्माणका क्रममा रहेको उनको भनाइ छ । सांसद विमला पौडेल र अनिता देवकोटाले मन्त्री यादवसँग स्पष्टीकरण मागका थिए ।