गौतम बुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी

गौतम बुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी


आगामी एक वर्षभित्र गौतम बुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ ।

वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ ।

हाल सो विमानस्थलको करिब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल विमानस्थलको धावनमार्गलगायत काम भइरहेको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको र प्रगति आशातीत रूपमा अगाडि बढेकाले समयमा नै सकिँदैन कि भनेर कुनै आशंका नगर्न आग्रह गरे ।

यस्तै कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्र धावनमार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् २०२१ भित्र सो विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ छ ।
पोखरामा निर्माण भइरहेको विमानस्थलमा १८० सिट क्षमताभन्दा बढीको जहाज उडान तथा अवतरण गर्न नसकिने भन्ने भनाइमा सत्यता छैन भन्दै उनले सो विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ का रूपमा सञ्चालन गरिने जानकारी दिए । हाल सो विमानस्थलको १५ प्रतिशत भौतिक प्रगति भएको छ ।

निजगढ विमानस्थलमा मुआब्जा वितरणलगायत काम अगाडि बढिरहेको र वन क्षेत्रको कटानका लागि तीन चरणमा काम गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । मुलुकको भविष्यसँग जोडिएको र विश्वका राम्रा परियोजनामध्ये एक रहेको सो विमानस्थललाई केही समयभित्रै निर्माण शुरु गरिने जानकारी उनले दिए । निजगढ विमानस्थलको निर्माण ढाँचा आगामी ६ महिनाभित्र तय हुने मन्त्री अधिकारीको भनाइ थियो ।

वाइड बडी राति चल्ने

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले केही दिन पहिले ल्याएको वाइड बडी जहाज पनि राति १२ः०० पछि सञ्चालनमा ल्याइने जानकारी दिए । यस्तै कार्गो विमानलाई पनि सोही समयपछि मात्रै अवतरण गर्न दिने गरी कार्यतालिका बनाइएको र विमानस्थलाई थप व्यवस्थित बनाइएको जानकारी उनले दिए । मन्त्री अधिकारीले आगामी केही समयभित्रै अर्को वाइड बडी जहाज आइपुग्ने र थप जहाज खरिदको प्रक्रिया शुरु भएको भन्दै नेपालको हवाई क्षेत्र थप गतिमा गएको छ भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रातिसमेत चलाउँदा आवश्यक जनशक्तिको व्यवस्था, अध्यागमन तथा अन्य सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ थियो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि आवश्यक प्रक्रिया शुरु भएको र विगतको गलत अनुभवबाट पाठ सिकेर सरकारले तयारी गरेको जानकारी उनले दिए ।

यस्तै नेपाल र भारतबीच थप हवाई मार्ग प्रयोग गर्न पाउने गरी सहमति भएको तथा नेपालगञ्ज, जनकपुर, भीमदत्तनगर, सिमरा, विराटनगरलगायत मार्ग प्रयोग गर्न सकिने वातावरण बनेको उनले स्पष्ट पारे ।

त्यसैगरी सरकारले धनगढी, नेपालगञ्ज, विराटनगर, भद्रपुर र जनकपुर विमानस्थललाई थप व्यवस्थित र साधनस्रोत सम्पन्न बनाएर अन्तर्राष्ट्रिय एवं क्षेत्रीय उडान गरिने उनको भनाइ थियो । उनले आइकाओले नेपालको हवाई क्षेत्रमाथि लगाउँदै आएको खतराको सूचीबाट हटाइसकेको र युरोपेली संघले पनि छिट्टै हटाउने जानकारी सदनलाई दिए ।