ललितपुर महानगरको चार अर्ब ५१ करोडको बजेट प्रस्ताव

ललितपुर महानगरको चार अर्ब ५१ करोडको बजेट प्रस्ताव


ललितपुर महानगरपालिकाले आगामी आव ०७५÷७६ का लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ ।

महानगरपालिकाले आज आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताए । संघीय सरकारबाट रु. ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट रु. तीन करोड र आन्तरिक स्रोत रु. एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ । अनुदान ससर्त र निःसर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।

नगर प्रमुख चिरिबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साबिक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताए । उनले भने, ‘हामी विकासको शुरुआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौँ ।’

सांसद पम्फा भुसालले महानगरले कानुनले तोकेको मिति (१० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भनिन्, ‘अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।’ प्रदेश सभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने आँैल्याए । नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिइन् । नगर सभाले पारित गरेको बजेट यही असार ३२ गते सार्वजनिक गरिने योजना छ ।