को हुन् राष्ट्रवादी ?

को हुन् राष्ट्रवादी ?


nisedhविभिन्न राजनीतिक दलसँग सम्बद्ध राजनीतिकर्मीले चुनावबारे कुरा गरेको, कोसँग गठबन्धन गर्दा चुनाव जित्न सहज हुन्छ भनेर छलफल गरेकोजस्ता कुरा आइरहेका छन् । आफ्नो दल र आफू कसरी शक्तिशाली हुने भन्ने कुरासँगसँगै यो देशका राजनीतिकर्मीले राष्ट्रको बारेमा पनि बेलाबेलामा चिन्ता प्रकट गरेको सुनिन्छ । राष्ट्रको नाममा या बारेमा चिन्ता जति प्रकट गर्दै छन् देश भने झनै चिन्ताग्रस्त बन्दै गइरहेको छ । मुलुकका नाममा यहाँ नेताहरूबीच धेरै बैठक बसे, छलफलका नाममा फलबिनाका छलहरू धेरै भए । तर, जे–जे गरे पनि मुलुकका लागि कुनै ठोस उपलब्धि नभएपछि उनीहरूले गर्ने गरेको चिन्तामाथि नै शङ्का गर्नुपर्ने बेला भएको छ । आफूलाई अलिकति अप्ठ्यारो प-यो या आफू तल पर्ने अवस्था आयो भने राष्ट्रवादको नारा अगाडि सार्ने गरिएको छ । आफ्नो स्वार्थका लागि जनतालाई त प्रयोग गरियो नै राष्ट्रवाद र राष्ट्रियताजस्ता कुरालाई समेत प्रयोग गर्न थालिएको छ । विगत केही समयदेखि हाम्रा केही नेताले ‘राष्ट्रवाद’लाई अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् । आफू शक्तिहीन हुने अवस्था आउनासाथ उनीहरू राष्ट्रियतामा खतरा देख्छन् । जब शक्ति या सत्तामा पुग्छन्, राष्ट्रियतामाथिको खतरा आफैँ हराएर जान्छ । झर्ने बेलामा एक्कासि पुन: खतरा देखिन्छ र सत्ताबाहिर बसुन्जेल यो खतरा जारी रहन्छ । यसरी केही दलका केही नेताले राष्ट्रियता या राष्ट्रवादलाई आफू सत्तामा पुग्ने भ-याङका रूपमा प्रयोग गरिरहेका छन् ।
बृहत् नेपाली शब्दकोशका अनुसार, राष्ट्रवादको अर्थ आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति–भावना हो । राष्ट्रवादीको अर्थ राष्ट्रवादको मत मान्ने या राष्ट्रवादसँग सम्बन्ध भएको भन्ने हुन्छ । वास्तवमा राष्ट्रको उन्नतिमा जो लाग्छ उही राष्ट्रवादी हो । देशलाई जसले ध्वस्त हुनबाट बचाउन र विकास तथा समृद्धिमार्फत अगाडि बढाउन चाहन्छ उही देशभक्त र राष्ट्रप्रेमी हो । कुनै न कुनै नाममा मुलुकको विनाश गर्न अग्रसरहरू देशभक्त र राष्ट्रवादी होइनन्, हुन सक्दैनन् । त्यस्ता मानिस हिजो पनि राष्ट्रवादी थिएनन्, आज पनि छैनन् र भोलि पनि हुँदैनन् । हामीकहाँ कुनै मुलुकलाई गाली गर्नासाथ आफू राष्ट्रवादी भइन्छ भन्ने भ्रम पनि छ । विशेषगरी छिमेकी मुलुक भारतको विरोध गर्नुमा आफ्नो राष्ट्रवाद देख्नेहरू पनि यहाँ धेरै छन् । कुनै मुलुकको नीतिको विरोध गर्नु या तिनका क्रियाकलाप र आफ्नो देशप्रतिको दायित्व फरक कुरा हुन् । राष्ट्रवाद र सत्तालाई जोडेर हेर्नेहरूले राष्ट्रवादको मूल्य–मान्यतालाई धुमिल बनाउने काम गरिरहेका छन् । आफ्नो मुलुकप्रति इमानदार हुनका लागि कुनै पनि नागरिक सत्तामा गइरहनु आवश्यक छैन । उसले आफ्नो ठाउँबाट देशका लागि कुनै न कुनै योगदान गर्न सक्छ, गरिरहेको हुन्छ । एउटा नागरिक राष्ट्रवादी हुनका लागि राजनीति नै गर्नुपर्छ भन्ने होइन, तर राजनीति गर्नेहरूले चाहिँ राष्ट्रवादी हुन आवश्यक छ । किनभने राजनीति गर्नु भनेकै व्यक्ति र समाजभन्दा माथि उठेर मुलुकका लागि केही गर्नु हो । सर्वसाधारण जनताले मुलुक बनाउने काम उनीहरूलाई जिम्मा दिएकाले उनीहरू मुलुकका प्रति इमानदार हुनु जरुरी छ । जनताले भोट दिनुको अर्थ आफ्नोतर्फबाट उसलाई विश्वास दिनु हो, भरोसा गर्नु हो । तर, हाम्रो देशका राजनीतिकर्मीले जनताको उक्त विश्वास र भरोसालाई बचाएर राख्न सकेका छैनन् ।
सर्वसाधारणका लागि राष्ट्रवादको अर्थ खाद्य सामग्री, सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुरा हुन् । जसले मुलुकलाई यी आधारभूत कुरा दिलाएर सुचारु रूपले अगाडि बढाउन सक्छ उही राष्ट्रवादी हो । मुलुक बनाउने भनेको यी र यस्तै स–साना कुराको सही व्यवस्थापन हो । नेपालजस्तो सानो मुलुकलाई समृद्ध बनाउन धेरै ठूला–ठूला काम गर्नुपर्दैन । बाटोघाटो, पुलपुलेसा, व्याप्त बेरोजगारी घटाउनका लागि ठाउँ–ठाउँमा उद्योग व्यवसायको स्थापना, कृषि तथा अन्य उत्पादनका लागि बजारको व्यवस्था, बिजुली उत्पादन तथा वितरण, विभिन्न नीति तथा कानुनको पालनालगयतका कुरा गरे पुग्छ । सिमेन्टदेखि फलामका सामानसम्म र दाल, तरकारीदेखि चामलसम्म भारतबाट आउँछ । कपडा सबै बाह्य मुलुकबाटै आउँछन् । यी सब गर्नका लागि आफ्नै देशमा कलकारखाना र उद्योग–व्यवसाय भए बाहिरबाट सामान ल्याउनु नपर्ने मात्रै होइन मुलुकको बेरोजगारी पनि आफँै रोजगारीमा परिणत हुनेछ । बिजुली उत्पादनको त झन् कुरै भएन । हाम्रो देशको क्षमताअनुरूपको बिजुली उत्पादन मात्रै गर्ने हो भने मुलुक कहाँ पुगिसक्थ्यो, जनता कति समृद्धिशाली भइसक्थे । आफूले बालेर नसकेको बिजुली बेच्नका लागि हामीसँग भारत नै काफी छ जो वर्षमा लामो लोडसेडिङ खप्न बाध्य छ । उत्पादन भए उनीहरू किन्न पनि तयार छन् । तर, दुर्भाग्य हामी नेपाली त्यही भारतबाट बिजुली किनिरहेका छौँ । यस्तो लाजमर्दो अवस्थामा मुलुकलाई पु-याउनमा हाम्रो नेतृत्व वर्ग दोषी छ । निस्वार्थ नेता नभेटेका कारण यो मुलुक यस्तो भएको हो भनेर ठोकुवा गर्ने आधार धेरै छन् । हामीकहाँ राम्रा मान्छे नभएका होइनन्, यो मुलुकलाई असाध्यै माया गर्ने राष्ट्रवादी नभएका होइनन् तर तिनको उपस्थिति राज्यसत्तामा कि त हुँदै हँुदैन कि न न्यून छ । गोकर्ण विष्ट एकजनाले गर्दा विद्युत् खपतमा र सम्बन्धित क्षेत्रको राजस्वमा कति धेरै फरक आइसकेको थियो । सर्वसाधारणका लागि त यस्तै व्यक्ति राष्ट्रवादी हुन् जसले साँच्चीकै यो मुलुकमा केही गर्न खोजे । मुलुकका नाममा बचेखुचेको साधन स्रोत सक्नमा मात्रै लागिपर्ने मानिस चाहे राजनीतिकर्मी हुन् या जोसुकै उनीहरू राष्ट्रवादी होइनन् । मुलुकको ढुकुटीमा राजनीतिकर्मीको बाहेक अन्य नागरिकको पहुँच नहुने हुँदा अन्य भनेर नाम लिइरहनुपर्ने अवस्था पनि छैन । चुनावको मिति घोषणा भइसकेकाले अब राष्ट्रवाद र राष्ट्रियता शब्दको निकै प्रयोग हुनेवाला छ । तर, राष्ट्रवाद भन्ने कुरा गीत गाउने कुरा होइन । भोको पोट र नाङ्गो आङका जनतासामु राष्ट्रवादको नारा घन्काउनुको कुनै अर्थ छैन । उनीहरूका लागि त एकछाक खाना, एकसरो कपडा, शान्तिपूर्वक बास, स्वस्थ शरीर, पढ्न पाउने शिक्षा, अलिकति गरी खाने ठाउँ र कानुनी शासन नै राष्ट्रियता हो, देशप्रेम र राष्ट्रवाद हो ।