घुमाउनेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

घुमाउनेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध


वर्षातको समयमा पहिरोका कारण समस्या पैदा हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । सोमबारको झरीसँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत पर्ने घुमाउने भन्ने स्थानमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खस्न यतिबेला बन्द भए पनि कुनै पनि बेला पुनः पहिरो खस्न सक्ने बताइएको छ । यदि थप पहिरो नखसेमा विहान दश बजेभित्रै यातायात सञ्चालन गर्न सकिने जनाइएको छ ।

सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।