प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन

प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन


नेपाल प्रज्ञा प्रतिष्ठानको तीनतल्ले पुस्तकालय भवनको उद्घाटन गरिएको छ । नेपालका लागि भारतका राजदूत मंजिवसिंह पुरीको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले गर्नुभएको सो पुस्तकालय भवन मित्रराष्ट्र भारतको ४ करोड ३९ लाख ४० हजार रूपैयाँ सहयोगमा निर्माण भएको हो । उद्घाटन समारोहमा सहरी विकास, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय, नेपाल सरकारका प्रतिनिधिहरू, सामाजिक अगुवालगायतको व्यापक उपस्थिति थियो ।

नवनिर्मित उक्त पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरूलाई खोज तथा सन्दर्भसम्बन्धी सुविधा प्रदान गर्ने बताइएको छ । पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधासमेत रहने छ भने नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना बनाएको छ ।

उक्त पुस्तकालयले भारत र नेपालबीचको मैत्री सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञबीच दरिलो सम्बध विकास गर्न पनि मद्दत गर्ने सम्बद्ध पक्षले जनाएको छ ।

भारत सरकारले हालसम्म काठमाडौं जिल्लामा ४८ करोड ६५ लाख बराबरका आयोजनाहरू सम्पन्न गरिसकेको छ । यस्ता आयोजनाअन्तर्गत विद्यालय, पुस्तकालय, अस्पताल तथा अन्य स्वास्थ्य सुविधाहरू, आर्ट ग्यालरी, खाद्य ल्याब र महिला तथा छात्राहरूका लागि छात्रावास भवन र सामुदायिक केन्द्रहरू पर्दछन् । हाल काठमाडौंमा भारतीय सहयोगमा ४० करोड ७० लाखबराबरका बाह्रवटा आयोजना विभिन्न चरणमा निर्माण भइरहेका छन् । यसका अतिरिक्त भारत सरकारले काठमाडौंका विभिन्न संस्थालाई ४७ वटा एम्बुलेन्स, तीनवटा विशेष मेडिकल भ्यान र ४१ वटा बस सहयोग गरिसकेको छ ।

ज्ञात रहोस्, सन् १९५७ मा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान भारत साहित्य एकेडेमीको समकक्षी संस्था हो । नेपाल सरकारको स्वामित्व रहेको प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरूलाई समन्वय गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन, खोज र सांस्कृतिक एवम् बौद्धिक क्षेत्रको समग्र विकासका लागि समर्पित प्रमुख राष्ट्रिय संस्थाको रूपमा पनि चिनिँदै आएको छ ।