जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सुशील केसी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीमा दर्ता गरिएको जाहेरीअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलमा गत चैत २२ गते राति करिब ९ः३० बजे उक्त घटना भएको आरोप लगाइएको छ । पीडित महिलाले आफू गोदावरी नगरपालिका–१३, झरुवारासी आरुबोटनिवासी रहेको उल्लेख गरेकी छन्।
जाहेरीमा केसीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा आफूमाथि जबर्जस्ती करणी गरेको तथा घटनाअघि जबर्जस्ती मदिरा पिलाएको आरोप लगाइएको छ । पीडितका अनुसार उनका श्रीमानको २०८२ साल वैशाखमा निधन भएको थियो र शोकको अवस्थामै नाताले भाइ पर्ने केसीबाट आफू हिंसामा परेको दाबी गरेकी छन् ।
पीडित महिलाले घटनापछि आरोपीले बाहिर कुरा नगर्न दबाब दिँदै विभिन्न किसिमका मानसिक तनाव दिएको उल्लेख गरेकी छन् । त्यसका कारण आफू मानसिक रूपमा गम्भीर असरमा परेको र उपचारका लागि औषधि सेवन गर्नुपरेको समेत उनले बताएकी छन् ।
स्रोतका अनुसार जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी परिसर ललितपुर र बारा प्रहरीबीच समन्वय गरी आरोपीलाई सिमराबाट गत बुधबार (३ असार) पक्राउ गरिएको थियो । उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइ ललितपुर प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको परिचय गोप्य राख्दै ‘जाउलाखेल ४०’ उपनाम दिइएको छ भने मुद्दा जिल्ला प्रहरी परिसर ललितपुरमा दर्ता भई कानुनी प्रक्रिया अघि बढिरहेको स्रोतले जनाएको छ । पीडित महिला (जाउलाखेल ४०)को मुद्दा दर्ता नम्बर १०४२ रहेको बुझिएको छ ।
यसैबीच, पीडित महिलाले आफू सामाजिक दृष्टिकोण र घटनाको मानसिक आघातका कारण अत्यन्त पीडामा रहेको बताएकी छन् । उनले जबर्जस्ती करणीजस्तो गम्भीर अपराधलाई मिलापत्र गराउन केही प्रभावशाली व्यक्तिहरूले दबाब दिने प्रयास गरेको आरोपसमेत लगाएकी छन् । यद्यपि, उक्त आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । प्रहरीले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान गरी कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रतिक्रिया